शुक्रबार, बैशाख १४, २०८१

अमेरिका गएको २१ महिनासम्म सम्पर्कविहीन उपमेयर

  
कर्णाली टाइम्स सोमवार, साउन ४, २०७८
उपमेयर नेपालीको फेसबुकबाट

सुर्खेत। कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) आफ्नो कार्यकक्षमा नआएको २१ महिना वित्यो। उनी न मेयरको सम्पर्कमा छिन्, न त कार्यसम्बद्ध अरु कुनै पदाधिकारीसँग।
उपमेयर नेपाली २०७६ कात्तिक १ गते इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन नेपालका तर्फबाट अमेरिका गएकी थिइन्। असोज २६ गते नगरकार्यपालिकाले नै उनलाई गोष्ठीमा जानेगरी सिफारिस गरेको थियो।
चार दिनसम्म चल्ने गोष्ठीमा सहभागी हुन भन्दै गएकी उपमेयर ३ महिनासम्म उतै बस्दासम्म खोजी भएको थिएन। २०७६ माघ ९ गते सुर्खेतमा भएको राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न नआएपछि उनी अमेरिकाबाट नफर्किएकोबारे हल्ला चल्यो।
विभिन्न सञ्चारमाध्यममा समाचार आए। उनीबारे धेरैले आलोचना पनि गरे। नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले नगरकार्यपालिकालाई फिर्ता बोलाउन अल्टिमेटम पनि दियो। तर उनी अहिलेसम्म पनि आफू ‘काममा फर्किने वा राजीनामा दिने’ भन्ने बारेमा केही बोलेकी छैनन्।
‘उहाँ यहाँबाट अमेरिका जान्छु भनेर गएदेखि नै सम्पर्कमा हुनुहुन्न, सुरुसुरुमा परिवारसँग बिरामी भएर थलिएकी छु भन्ने खबर आएको सुनिन्थ्यो,’ तिलागुफा नगरपालिकाका मेयर रत्न बहादुर शाहीले भने, ‘त्यसयता भने उनको अवस्था के छ, जिम्मेवारीमा फर्किनुहुन्छ या फर्किनुहुन्न भन्ने कुनै जानकारी नै छैन।’
स्थानीय सरकारको उपप्रमुखजस्तो जिम्मेवार पदमा जननिर्वाचित व्यक्ति यसरी दुई बर्षसम्म सम्पर्कविहीन हुँदा समेत बर्खास्त गर्न मिल्दैन। यस्तो विषयमा कानूनी अड्चन नै छ। संविधानमा स्थानीय तहको उपप्रमुखले राजीनामा दिएमा वा मृत्यु भएमा मात्र पदमुक्त भएको मानिने व्यवस्था छ।
‘कानूनी रुपमा त उहाँको मृत्यु भएको वा राजीनामा दिएको भए विकल्पमा जान मिल्ने व्यवस्था छ, नगरसभाबाट पनि बर्खास्तको निर्णय गर्न मिल्दैन,’ मेयर शाहीले भने, ‘पदमुक्तको कुरा मात्र होइन, यत्तिको जिम्मेवार व्यक्तिले आफै जानेर फर्किनुपर्ने हो। जनमतको अवहेलना गर्नु राम्रो होइन।’
उपमेयर नेपाली २१ महिनादेखि गायब भए पनि तोकिएको तलब भने गइरहेको छ। उनले पाउने बैठक र अन्य केही भत्ताबाहेकको सेवासुविधा गइरहेको मेयर शाहीले बताए। ‘उहाँ आफैंले लामो समयसम्म जिम्मेवारीमा नहुँदा सेवासुविधा लिन्न भन्नुपर्ने हो, उहाँले नभनेसम्म त हामीले तलब रोक्न मिल्ने कुरा पनि त भएन’ उनले भने।
अहिले उपमेयरले गर्ने कामको जिम्मेवारी वडा नम्बर ८ का वडा अध्यक्ष तिलक न्यौपानेलाई दिइएको छ। २०७७ फागुन २७ को कार्यपालिका बैठकले उनलाई जिम्मेवारी दिएको छ। न्यायिक समिति, योजना अनुगमन समिति लगायतका विभिन्न सिमितिहरुमा संयोजक उपमेयर वा उपाध्यक्ष हुन्छन्।
आफैले धेरैतिर काम गर्नुपर्ने भएकाले चाप धेरै हुने न्यौपानेले बताए। ‘धेरैजसो समितिहरुमा उपमेयर संयोजक हुने व्यवस्था रहेछ, मलाई अहिले उपमेयर गर्नुपर्ने कामको जिम्मेवारी छ,’ उनले भने, ‘वडाको काम गर्ने कि उपमेयरको जिम्मेवारी पूरा गर्ने, चाप नै बढी छ।’
न्यौपाने यसअघि पनि न्यायिक समितिको सदस्य थिए। आफू न्यायिक समितिको संयोजक भएयता उजुरी दर्ता नभएको उनले बताए। न्यौपानेले भने, ‘उपमेयर हुँदा त उजुरी थिए होला, म आएदेखि उजुरीहरु पनि आएका छैनन। मेलमिलाप समितिबाटै समाधान भएर गएका छन्।’
न्यौपानेका अनुसार जिम्मेवारी छोडेर गायब भएकी उपमेयरको परिवारसँग भने सम्पर्क भइरहेको छ। ‘हामीसँग सम्पर्क नभएपनि परिवारसँग कुरा भइरहेको भन्ने छ, फर्किन्छु भनेर भन्नुभएको परिवारका सदस्यले भन्छन्’ उनले भने।
कामको जिम्मेवारी अर्को व्यक्तिलाई दिएपछि कामकाजमा भने खासै असर नपरेको मेयर शाहीले बताए। उपमेयर गायब भएपनि उनलाई कारबाही गर्ने वा फिर्ता बोलाउने विषयमा मेयर र सम्बन्धित पार्टी नै नाजवाफ रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटका सहसचिव दमन शाहीले बताए। बारम्बार यसको लागि कांग्रेसले ध्यानाकर्षण गराए पनि पार्टी र मेयरको ध्यानाकर्षण नभएको आरोप उनले लगाए।
‘हामी नगरपालिकामा प्रतिपक्षी दल हो, हामीले आफ्नो तर्फबाट नगर कार्यपालिका र निर्वाचन कार्यालयमा ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘निर्वाचन कार्यालयले सम्बन्धित पार्टीले नै कारबाही गर्नुपर्छ भन्छ, उहाँ सम्बद्ध पार्टी माओवादी केन्द्र भने यसमा ध्यान दिन चाहँदैन।’
जननिर्वाचित व्यक्ति जनताको अवहेलना हुनेगरी जिम्मेवारी छोडेर गायब हुनु भनेको नैतिक रुपमा गलत भएको अधिवक्ता दुर्गा सापकोटा बताउँछन्। ‘कानूनले गायब हुन मिल्ने वा नहुने भनेको छैन, तर जनताले प्रत्यक्ष रुपमा जिताएका जनप्रतिनिधि जिम्मेवारी छोडेर गायब हुनु भनेको नैतिकता हराउनु हो,’ उनले भने।
अधिवक्ता सापकोटाले गायब भएकी उपमेयरको सेवासुविधा रोक्ने निर्णय नगरसभाले गर्न मिल्ने बताए। नेपालीसँगै धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना पनि गोष्ठीमा सहभागी हुन गएका थिए। चार दिने कार्यक्रममा सहभागी हुन पुगेका नेपाली र ढुङ्गानाको गोष्ठीसहित २१/२२ दिन बस्ने कार्यक्रम थियो।
सोही योजनाअनुरुप दुबै जनाको फर्किने तालिका २०७६ कात्तिक २१ गते थियो। ढुंगाना भने सोही तालिकामा फर्किएका थिए।
दन्ता पहिला नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनमा थिइन्। उनका बुवा २०५४ सालमा नेमकिपाबाट कालीकोटमा वडाध्यक्ष बनेका थिए।
माओवादी शान्ति प्रक्रियामा आएपछि उच्च शिक्षा अध्ययनका लागि दन्ता काठमाडौं गएकी थिइन्। बागबजारको पद्माकन्या क्याम्पसमा बिबिएस पढेकी उनले माओवादीको विद्यार्थी संगठनबाट राजनीति गरेकी थिइन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनले माओवादी केन्द्रबाट टिकट पाएर निर्वाचित भएकी थिइन्। सेतोपाटी