शनिबार, बैशाख १५, २०८१

कोभिडको तेस्रो भेरियन्ट नियन्त्रणको लागि तयारी भईरहेको छ : मन्त्री बुढा

  
कर्णाली टाइम्स आइतवार, साउन १०, २०७८


सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले कोभिड–१९ को तेस्रो भेरियन्ट न्युनिकरणको तयारीमा जुटेको बताएका छन् ।
आइतबार संवाद समुह सुर्खेतले कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरेको अन्तरक्रियामा मन्त्री बुढा क्षेत्रीले पहिलो र दोस्रो भेरियन्टले पारेको समस्यालाई ध्यान दिँदै अबको सम्भावित तेस्रो भेरियन्ट नियन्त्रणको तयारीमा सरकार लागेको बताए ।
नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भीर रहेको भन्दै उनले प्रदेश सरकारको तयारी महामारी नियन्त्रणमा रहको बताए ।
‘कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरिण्ट नियन्त्रण्को आवश्यक तयारी, जनशक्ति, उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं ।’
कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहहरुसँग समेत सहकार्य गरेको मन्त्री बुढाक्षेत्रीले बताए ।
सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।
कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने बताउँदै उनले औषधी र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।