सोमवार, पुस ७, २०८२

संग्राहलयलाई कर्णालीको भाषादेखि परम्परा सम्मको अध्ययन केन्द्रका रुपमा विकास गर्न मन्त्री बुढाक्षेत्रीको निर्देशन

  
कर्णाली टाइम्स आइतवार, साउन ३१, २०७८
कर्णाली प्रदेश संग्राहलय अवलकोन गर्दै सामाजिक विकास मन्त्री यज्ञ बुढाक्षेत्री

सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश संग्रहालयलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन्। मन्त्री बुढाक्षेत्रीले कर्णाली धार्मिक, सांस्कृतिक र ऐतिहासिक पूरातात्विक महत्वको केन्द्र भएकाले संग्राहलयमा यसको प्रतिविम्ब झल्कनुपर्ने औंल्याए।
‘कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक, प्राकृतिक, रहनसहन र पुरातात्विक महत्वको केन्द्र हो, त्यसको प्रतिविम्ब प्रदेश संग्रहालयमा झल्किनुपर्छ।’ उनले भने।
कर्णालीको भाषा, संस्कृति र परम्पराको अध्ययन केन्द्रको रुपमा पनि संग्रहालयलाई विकास गर्नुपर्ने उनले बताए। कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रदेशको बारेमा जान्न र बुझाउन संग्रहालयको महत्वपूर्ण भूमिका रहने भएकाले सोही अनुसारको पूर्वाधार, अध्ययन सामाग्री र संग्रहहरु गर्नुपर्नेमा मन्त्री बुढाक्षेत्रीले जोड दिए।
संग्रहालयमार्फत कर्णालीका १० वटै जिल्लाका पर्यटकीय, सांस्कृतिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको बारेमा जानकारी दिन आवश्यक रहेको उनले बताए। ‘कर्णालीका सबै जिल्लाहरु सांस्कृतिक, धार्मिक, पुरातात्विक महत्वका स्थलहरु हुन्,’ उनले भने, ‘ती क्षेत्रहरुका बारेमा संग्रहालयमा आएका पर्यटकहरुलाई जानकारी दिने गरेर तयारी गर्न आवश्यक छ।’
मन्त्री बुढाक्षेत्रीले चालू आर्थिक वर्षभित्र सबै कर्णालीका पर्यटकीय, धार्मिक, सांस्कृति र पुरातात्विक क्षेत्रको भिडियो बृत्तचित्र तयार गरेर संग्रहालयमा आउने पर्यटकहरुलाई देखाउने वातावरण बनाउन पनि निर्देशन दिए।
कार्यक्रममा संग्रहालयका प्रमुख डबलप्रसाद शर्माले कार्यालयले गरिरहेका कामहरु र भावी योजनाका बारेमा जानकारी गराएका थिए। उनले पुस्तकालय भवन नबन्दा संग्रहालयमा आउने पर्यटकहरुलाई कर्णालीका बारेमा बुझाउन समस्या भइरहेको बताए। कार्यालय प्रमुख शर्माले अघिल्लो वर्ष बजेट भएर पनि कर्णालीका धार्मिक, पर्यटकीय, सांस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको संग्रह तयार गर्न नसकेको बताए।