
सुर्खेत। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) ले बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिने भएको छ। माधवकुमार नेपाल अध्यक्ष रहेको उक्त पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ।
पार्टी विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था उल्लेख छ, जहाँ भनिएको छ- नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति मात्रै साधारण सदस्य बन्न सक्ने व्यवस्था छ।
यस्तै १८ वर्ष पूरा भएको नेपाली नागरिकले साधारण सदस्यता लिन सक्नेछन्। तर भ्रष्टाचार, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध विक्री तथा वितरण, निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा कैदको सजाय नपाएको व्यक्ति हुनुपर्नेछ।
साधारण सदस्यता लिन वडा पार्टी कमिटीमा आवेदन दिनुपर्ने व्यवस्था विधानले गरेको छ। उक्त पार्टीले साधारण र संगठित गरी दुई सदस्यता प्रणाली राखेको छ। साधारण सदस्यता प्राप्त गरी कुनै जनसंगठन वा संयन्त्र वा सम्पर्क मञ्चमा संगठित भई कम्तिमा १ वर्ष काम गरेपछि मात्रै संगठित सदस्यता दिन सकिने विधानमा उल्लेख छ।
आज माधव नेपालसहित केन्द्रीय सदस्य र सांसदहरूले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टीको लागि सनाखत गरेका छन्।
कर्णाली टाइम्स
बुधबार, भदौ ९, २०७८
