आइतवार, असोज १०, २०७८

हरितालिका तिजले सामाजिक सद्भावमा र एकतामा महत्वपूर्ण भूमिका खेल्नेछ : मुख्यमन्त्री शाही

  
कर्णाली टाइम्स बिहीबार, भदौ २४, २०७८


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हरितालिका तिजले सामाजिक सद्भाव, एकता, भातृत्व एवम् भगिनित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वस व्यक्त गरेका छन् । हरितालिका तिजको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री शाहीले बहुसांस्कृतिक विविधताले नै नेपाली समाजलाई पारस्परिक सम्मान, सद्भाव तथा एकतासहित अघि बढ्न प्रेरित गरेको बताए ।
तिजलाई पारिवारिक मिलन र सामाजिक सदभाव साट्ने पर्वका रुपमा मनाउन मुख्यमन्त्री शाहीले आग्रह गरेका छन् ।
‘हरितालिका तीजलाई परम्परागत अन्धविश्वासका आधारमा नभई महिलाको स्वतन्त्रता, दिदीबहिनीहरुको भेटघाट र सुख, दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्वका रुपमा मनाउन आग्रह गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ, ‘तीज पर्वका नाममा हुने आर्थिक, सामाजिक र साँस्कृतिक विकृतिहरुप्रति सचेत रहँदै महिलाका हक अधिकार, समानता, सहअस्तित्वको आवाज उठाउने तथा जागरुक बनाउने अवसरका रुपमा तीजलाई उपयोग गर्न आवश्यक छ ।’
कोभिड–१९ को जोखिम अझ पनि उस्तै रहेकोले यसबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै बसेर तिज मनाउन उनले आग्रह गरेका छन् ।