बिहीबार, असार १९, २०८२

डोल्पामा पहिलो पटक यातायात प्रालि दर्ता

  
कर्णाली टाइम्स शुक्रबार, असोज ८, २०७८

सुर्खेत। डोल्पा जिल्लामा पहिलो पटक यातायात प्रालि दर्ता भएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको तीन वर्षपछि यातायात प्राली दर्ता भएको हो। बिहिवार रुटपरमिट पाएसँगै देवप्रसाद बुढाको नेतृत्वमा स्थानीय ९ जनाले फोक्सुण्डो यातायात प्रालि दर्ता गरेका हुन् ।

उक्त प्रालिले डोल्पादेखि रुकुम पश्चिमसम्म गाडी चलाउने अनुमति पाएको छ । यसअघि व्यक्तिगत रुपमा रातो नम्बर प्लेटमा चलाउँदा मनोमानी भाडा अशुल्ने गरेका थिए ।

व्यक्तिगत रुपमा यातायातका साधन चलाउँदा यात्रुले महँगो भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि जिल्लामा पहिलो पटक यातायात प्रालि दर्ता गरेको सञ्चालक समितिका कोषाध्यक्ष देवप्रसाद बुढाले जानकारी दिए ।

‘सडक सञ्जालले जोडिएको तीन वर्ष बितिसक्दा पनि यहाँ कुनै यातायात प्रालि दर्ता भएनन्, व्यक्तिगत रुपमा चलाइएका सवारीले यात्रुबाट मनोमानी रुपमा पैसा लिने गरेका छन्,’ उनले भने, ‘यात्रुलाई सहज बनाउने उद्देश्यले हामीहरुले प्रालि दर्ता गरेका छौं, यहि महिनाभित्रै गाडीहरु सञ्चालनमा ल्याउनेछौं ।’