शुक्रबार, चैत्र १६, २०८०

कर्णालीका ५ सहित देशभरका २१ जिल्लामा असोज १८ गते हुँदैछ काँग्रेसको जिल्ला अधिवेशन

  
कर्णाली टाइम्स सोमवार, असोज ११, २०७८


सुर्खेत। कर्णाली प्रदेशका पाँचवटा जिल्लासहित देशभरका २१ जिल्लाहरुमा असोज १८ गते नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुँदैछ। हिउँ पर्ने तथा चिसो बढ्ने भएकाले दशैं अघि नै २१ वटा हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन गर्न लागिएको हो।
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आईतबार नै १८ गते अधिवेशन हुने जिल्लाको सूचिसहितको सूचना जारी गरेको छ।
२१ मध्ये कर्णाली प्रदेशका डोल्पा, मुगु, जुम्ला, हुम्ला र कालीकोट जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। यद्यपि सदस्यतासम्बन्धी विवादका कारण डोल्पा जिल्लामा वडा अधिवेशन समेत भएको छैन।
अन्य प्रदेशहरुमा पनि रसुवालगायतका केही जिल्लामा वडा अधिवेशन भएको छैन।
असोज १८ गते निर्वाचन हुने अन्य प्रदेशका जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, बाजुरा बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी रहेका छन्।
६४ जिल्लामा वडा अधिवेशन सकेको कांग्रेसले करिब ६० जिल्लामा गाउँ÷नगर अधिवेशन पनि गरिसकेको छ।
गोरखालगायत जिल्लामा मंगलबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको छ। असोज १५ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने र असोज १८ मा जिल्ला अधिवेशन गर्ने तयारी छ।
दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति पदको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्छ भने एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि नै सभापतिको उम्मेदवार हुन पाउँछन्।