शनिबार, बैशाख ८, २०८१

एकीकृत समाजवादीबाट राज्यमन्त्री सहित पाँचजना मन्त्री बन्ने, रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालय दिईने

  
कर्णाली टाइम्स शुक्रबार, असोज २२, २०७८


सुर्खेत। नेकपा (एकीकृत समाजवादी)बाट पाँच जनाले मन्त्री पाउने भएका छन्। एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री हुने भएका छन्।
खतिवडा सहरी विकास मन्त्री हुँदैछन्। मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन्। उनी २०४८, ०५१, ०५६ र ०७४ गरी ४ पटक सांसद निर्वाचित भइसकेका छन्।
झाँक्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्। विद्यार्थी आन्दोलनबाट स्थापित झाँक्री एकीकृत समाजवादीकी सचिवसमेत हुन्। नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन्।
झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन्। उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन्।
आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। आले २०७० सालमा समेत सांसद बनेका थिए। २०७७ पुस १० गते बनमन्त्री बनेका आले २०७८ जेठमा हटाइएका थिए। मन्त्रीबाट हटेपछि ओलीसँग असन्तुष्ट बनेका आलेले माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका हुन्। २०७४ को निर्वाचनभन्दा पहिला आले नेपाल समूहमा नै थिए। २०७१ को नवौं महाधिवेशनमा आलेले नेपाल समूहबाटै केन्द्रीय सदस्य जितेका थिए।
श्रेष्ठले श्रममन्त्रीको जिम्मेवारी पाउने भएका छन्। तनहुँबाट निर्वाचित सांसद श्रेष्ठ २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका हुन्।
तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन्। उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन। उनलाई स्वास्थ्य या पर्यटन राज्यमन्त्रीमध्ये एक बनाउने तयारी रहेको एकीकृत समाजवादीका एक नेताले बताए। सेतोपाटी