
सुर्खेत। कर्णाली प्रदेश अस्पतालले विशेषज्ञ सेवालाई विस्तार गरेको छ। सोमबारदेखि हप्तामा ६ दिन अतिरिक्त समय विशेषज्ञ सेवा दिन सुरु गरिएको हो।
बिहानको समयमा ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञहरुबाट विभिन्न रोगहरुको उपचार तथा परामर्श सेवा दिन थालिएको अस्पतालले जनाएको छ। शनिवारबाहेक हप्तामा ६ दिन दैनिक दुई घण्टा अतिरिक्त विशेषज्ञ सेवा दिन थालिएको हो।
बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोगको लागि विशेषज्ञ सेवा समय थप गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।
बिरामीहरुलाई सहज र सरल रुपमा सेवा दिने उद्देश्यले अतिरिक्त समय विशेषज्ञ सेवा दिन थालिएको उनले बताए।
बिहानको समयमा दिईने अतिरिक्त विशेषज्ञ सेवाको शुल्क पनि अतिरिक्त तोकिएको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवाको शुल्क ४ सय रुपैयाँ तोकिएको छ। नियमित समयमा २५ रुपैयाँ लाग्छ।
कर्णाली टाइम्स
सोमवार, कार्तिक १, २०७८
