
सुर्खेत। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। आज दिउँसो प्रदेश प्रमुखलाई उनले राजीनामा बुझाएकी हुन्।
प्रदेशसभा बैठकमा सम्बोधनका क्रममा राजीनामा घोषणा गरेको केही बेरमा प्रदेशप्रमुखको कार्यालय पुगेर उनले राजीनामा बुझाएकी हुन्।
१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा परेकी थिइन्। हाल प्रदेशसभामा एमालेको ४३ सांसदमात्र छन्।
मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन्। उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णयसमेत गरेका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखले अर्को सरकार गठन गर्न दिएको समयभित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दावी पेश गर्ने बताए।
कर्णाली टाइम्स
बुधबार, कार्तिक १०, २०७८
