
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको विवरण संकलन गरी प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को सुरूआत गरिएको छ।
प्रदेश जनगणना कार्यालय कर्णालीका प्रमुखसहितको गणक टोली बिहान ८ बजे मुख्यमन्त्री शाहीको निवासमा गएर जनणनाको सुरूआत गरेको हो।
राष्ट्रिय जनगणना २०७८ मा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार नै भिडिओ सन्देश जारी गर्दै आह्वान गरेका छन्।
विवरण संकलनका क्रममा बोल्दै उनले जनगणनाले नीति र योजना बनाउनमा समेत सघाउने हुँदा निर्धक्क सहभागी हुन आग्रह गरे।
आजदेखि ‘मेरो गणना मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना सुरू गरिएको छ।
जनगणनाका लागि घरघरमा पुग्ने गणकले ८० वटा प्रश्न सोध्नेछन्। यसका लागि देशभर गरी ८ हजारभन्दा बढी गणक खटिएका छन्।
एक जना गणकले एक दिनमा करिब एक दर्जन घरपरिवारको जनगणना गर्न सक्ने आँकलन गरिएको छ।
केन्द्रीय तथ्यांक विभागले दिएको जानकारीअनुसार जनगणनाका लागि स्थानीय तहमा ३५०, जिल्लामा ७७ भन्दा बढी र सातै प्रदेशमा जनगणनाका लागि कार्यालय खुलेका छन्।
जनगणना कार्य यही मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ। यसअघि कात्तिक १८ सम्म घरपरिवार सूचीकरण गरिएको थियो। यसअघि सरकारले २०६८ मा जनगणना गरेको थियो। १० वर्षको अन्तरालमा जनगणना गर्ने गरिन्छ।
