मंगलबार, असार १७, २०८२

सुर्खेत–१ मा दलित महाधिवेशन प्रतिनिधिका लागि आज फेरि मतदान हुँदै

  
कर्णाली टाइम्स शनिबार, मंसिर ११, २०७८

काँग्रेस अधिवेशनः
सुर्खेत। नेपाली काँग्रेस प्रतिनिधि सभा सुर्खेत निर्वाचन क्षेत्र १ मा दलित प्रतिनिधिका लागि आज पुनः मतदान हुँदैछ। दलित कोटाबाट दुईजना महाधिवेशन प्रतिनिधि आउनुपर्नेमा एकजना मात्र आएकाले आज पुनः मतदान गर्न लागिएको हो।
मंगलबार भएको प्रतिनिधि सभा सुर्खेत–१ को निर्वाचनबाट एकजना मात्र दलित महाधिवेशन प्रतिनिधि चुनिएका थिए। निर्वाचन समितिको गल्तिका कारण यस्तो भएको सुर्खेत–१ का क्षेत्रीय सभापति झकबहादुर डाँगीले बताए।
आजको मतदानबाट मंगलबारको अधिवेशनका तीनजना उम्मेदवारमध्येबाट नै दुईजना प्रतिनिधि चयन गरिनेछ। फेरि दरखास्त आह्वान गर्न नमिल्ने भएपछि अधिवेशनकै उम्मेदवारलाई कायम गर्नुपर्ने उनले बताए।
क्षेत्र नम्बर १ मा दलित समुदाय बढी भएकाले दुईजना प्रतिनिधि आउनुपर्ने व्यवस्था विधानले गरेको छ। तर निर्वाचन समितिले अधिवेशनमा एकजना मात्र प्रतिनिधि छानिने व्यवस्था गरेपछि आज पुनः मतदान गर्नुपरेको हो।
गएको अधिवेशनबाट छानिएका एकजना प्रतिनिधिको नाम गएपछि केन्द्रबाट नै व्यवस्था अनुसार दुईजना प्रतिनिधि छान्न निर्देशन भएको उनले बताए।
यसअघि भएको अधिवेशनमा तीनजनाको उम्मेदवारी परेको थियो। उदे कामी, बागविर दमाई र भिम बिकले उम्मेदवारी दिएकोमा उदे कामी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
क्षेत्र नम्बर १ मा पुनः मतदान हुने भएपछि सुर्खेतको जिल्ला अधिवेशन पनि प्रभावित बनेको छ। शुक्रबार तोकिएको अधिवेशन शनिवारका लागि सरेको हो।