सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिन लागेका छन्। कात्तिक १६ गते कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभावको वैठक तोकिएको छ।
यसका लागि मंसिर ३ गते प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए।
तोएिको वैठकमा कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु भने उपस्थित हुन नसक्ने भएका छन्।
संसदीय दलका नेता यामलाल कँडेल सहितका अरु सांसदहरु पनि नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवनमा भएकाले उपस्थित हुन असमर्थ भएका हुन्।
केही सांसदहरु आन्तरिक चुनावमा उम्मेदवार नै भएकाले आफूहरु उपस्थित हुन नसक्ने एमाले सांसद दल रावलले बताए।
‘हामी मतदानमा सहभागी हुन्छौं, कतिपय त उम्मेदवार नै छौं,’ उनले भने, ‘सत्तापक्षले वैठक यहीबेला नजुराए हुन्थ्यो, अब पनि हाम्रो उपस्थितिमा गराउन मिल्ने वातावरण पनि मिलाउँदा केही फरक पर्दैन।’
यसका लागि सत्तारुढ दलहरुले प्रदेश सभाको वैठकमा विश्वासको मत लिने प्रस्ताव आज दर्ता गरेर मत लिने कार्य एमालेको उपस्थितिमा गर्नेगरी तालिका बनाउन सकिन्छ।
नेपाली काँग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले भने यो विषयमा एमालेसँग सल्लाह लिन लागिएको बताए।
यदि भोलीसम्म एमालेको उपस्थिति हुन सक्ने भयो भने भोली नै विश्वासको मत लिने उनले बताए। भोली पनि उपस्थित हुन नसक्ने कुरा आएको आजै विश्वासको मत लिने सचेतक शाहीले बताए।
मुख्यमन्त्री शाहीले आफूले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले ८ सदस्यीय मन्त्रिपरिषदमा हालसम्म एकजना मात्र मन्त्री नियुक्त गरेका छन्।
कर्णाली टाइम्स
मंगलबार, मंसिर १४, २०७८