बुधबार, पुस ९, २०८२

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

  
कर्णाली टाइम्स बुधबार, मंसिर १५, २०७८


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। बुधवार कर्णाली प्रदेश सभाको वैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।
कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले आज ३० औं दिनमा विश्वासको मत लिएका छन्। उनले २२ जना सांसदबाट विश्वासको मत पाएका छन्।
माओवादीका १३, समाजवादीका ३, काँग्रेसका ६ र राप्रपाका एकजना सांसदले उनलाई विश्वासको मत दिएका हुन्।
मुख्यमन्त्री नियुक्त हुँदा उनले राप्रपा बाहेकका २१ जना सांसदको समर्थन पाएका थिए।
आजको वैठबाट कर्णाली प्रदेश सभामा एकमात्र सांसद रहेको राप्रपाले पनि समर्थन गरेपछि उनले २२ जनाबाट विश्वासको मत पाए। राप्रपाका सांसद सोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन गरेकी हुन्।
यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ गतेविश्वासको मत लिँदा उनी तटस्थ बसेकी थिईन्।
मुख्यमन्त्री शाहीले मंगलबार नै विश्वासको मत लिने भनिएपनि प्रमुख प्रतिपक्षी दललाई पर्खिएर मंगलबारको वैठक कार्यसूची प्रवेश गरी स्थगित भएको थियो। आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बुधवारको प्रदेश सभा वैठकमा पनि सहभागी भएन। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन संसदीय दलका नेतासहित सांसदहरु चितवन गएकाले उनीहरु सहभागी नभएका हुन्।
नेपाली काँग्रेस कर्णाली प्रदेश सभा दलका सचेतक हिमबहादुर शाहीले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिनैपर्ने भएकाले प्रमुख प्रतिपक्षी दलको सहभागिता विना मत लिनुपरेको बताए।