
सुर्खेत। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न आज फेरि चुनाव हुने भएको छ। सोमबार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि आज फेरि मतदान हुन लागेको हो।
केन्द्रीय निर्वाचन समितिका एक सदस्यका अनुसार आज अपरान्ह ३:३० बजेबाट दोस्रो चरणको मतदान गर्ने तयारी भएरहेको छ।
आजको मतदानमा पनि हिजोजस्तै ३ मतदान स्थलमा मतदानको व्यवस्था गरिने छ।
दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दै छन्।
सोमबारको मतगणनापछि जारी अन्तिम मत परिणाम अनुसार शेरबहादुर देउवाले २२५८ मत पाएको छन्। यो मत प्राप्त मतमध्ये ४८.२३ प्रतिशत हो।
यस्तै सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२९ मत पाएका छन्। यो ३६.९३ प्रतिशत हो।
यस्तै प्रकाशमान सिंहले ३७१ मत पाएका छन्। उनले ७.९२ प्रतिशत मत पाएका छन्।
विमलेन्द्र निधिले २४९ मत पाएका छन्। उनले ५.३१ प्रतिशत मत पाए।
यस्तै सबैभन्दा थोरै कल्याण गुरूङले २० मत पाए। उनले कुल ०.०४ प्रतिशत मत पाए।
