
सुर्खेत। कर्णाली प्रदेशका ९ जिल्लाका बालवालिकालाई कोभिड विरुद्धको मोर्डना खोप दिन सुरु गरिएको छ। दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा बालबालिकालाई आइतबारदेखि मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पुस १४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा माघ २ देखि १० गतेसम्म लगाइनेछ ।
९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य लिइएको निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए। उनका अनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिन थालिएको हो। सुर्खेतमा भने यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ खोपको पहिलो मात्रा दिइएको छ ।
सल्यानका ३ सय विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ३० हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए। उनका अनुसार त्रिवेणी गाउँपालिकाको लुहामस्थित सल्यान पब्लिक स्कुलबाट आइतबारदेखि खोप लगाउन सुरु गरिएको हो।
कर्णालीका पहाडी जिल्लामा दक्ष स्वास्थ्यकर्मी र उपकरण अभावमा एकै पटक सबै स्थानीय तहमा खोप लगाउन भने समस्या छ। रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले १४ गतेसम्म सबै विद्यालयका बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य छ। कान्तिपुर
कर्णाली टाइम्स
सोमवार, पुस १२, २०७८
