
सुर्खेत। राष्ट्रिय सभाको सदस्य पदका लागि नेकपा एमाले कर्णाली प्रदेशले ९ जनाको नाम सिफारिस गरेको छ। एमालेको कर्णाली प्रदेश कमिटीको शुक्रबारको बैठकबाट विभिन्न तीनवटा कलस्टरमा ९ जनाको नाम सिफारिस गरेको हो।
प्रदेश कमिटीले दिएको जिम्मेवारी अनुसार पदाधिकारीहरुले उम्मेदवारको नाम सिफारिस गरेका हुन्। माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट खुला, महिला र अपांगता गरी तीन कलस्टरमा तीनजना सदस्य चयन हुनेछन्।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहका अनुसार महिलातर्फ जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामालाई सिफारिस गरिएको छ।
मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डांगीलाई अपांगता कोटाको लागि उम्मेदवार सिफारिस गरिएको शाहले जानकारी दिए।
यस्तै खुलातर्फ सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्द विक्रम शाह र कालीकोटका हिरे सुनारलाई सिफारिस गरिएको छ।
कर्णाली प्रदेश कमिटीले सिफारिस गरेको नामहरुमध्येबाट केन्द्रले तीन जनालाई अन्तिम उम्मेदवारका रुपमा तोक्नेछ।
कर्णाली प्रदेशमा ३५ जना प्रदेश सभा सदस्य र १५६ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १९१ जना मतदाता छन्।
कर्णाली टाइम्स
शुक्रबार, पुस १६, २०७८
