
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारले गरेका कामकारबाहीका विषयमा प्रदेश प्रमुखलाई जानकारी गराएका छन्। शनिबार प्रदेश प्रमुख तिलक परियारसँग भेट गरी मुख्यमन्त्री शाहीले सरकारले सम्पादन गरेका कामका बारेमा जानकारी गराएका हुन्।
मुख्यमन्त्री शाहीले हरेक बुधबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, हरेक आइतबार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका विकास योजनाको म्याद तीन महिना थप गरिएको, भौतिक पूर्वाधार र उर्जा जलस्रोत विकास मन्त्रालयमा देखिएको कर्मचारीको समस्या समाधान भएको जस्ता विषयमा प्रदेश प्रमुखलाई जानकारी गराएका हुन्।
उनले पाँच वर्षदेखि १७ वर्षसम्मका कर्णालीका सम्पूर्ण बालबालिकालाई खोप लगाउने तयारी भइरहेको पनि भेटका क्रममा जानकारी गराएका छन्।
भेटका क्रममा प्रदेश प्रमुख परियारले सरकारका काम–कारवाहीप्रति आफू सन्तुष्ट रहेको बताए। आन्तनिर्भर अर्थतन्त्रको विकासका लागि सरकारले त्यहीँ अनुसारका नीति, कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि उनले दिएका छन्।
कृषिको उत्पादन बढाउनका लागि कृषकका उत्पादनहरु प्रदेश सरकारले खरिद र बजारीकरणको व्यवस्था गर्ने वातावरण मिलाउन, भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि जाने मानिसलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्ने वातावरण मिलाउन समेत प्रदेश सरकारलाई सुझाव दिए।
