शनिबार, असार २१, २०८२

वीरेन्द्रनगर नगरपालिकालाई सभाहल हस्तान्तरण

  
कर्णाली टाइम्स बिहीबार, पुस २२, २०७८


सुर्खेत। सुर्खेतमा निर्माण सम्पन्न भएको सभाहल बिहिवार वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। बिहिवार औपचारिक कार्यक्रमको आयोजना गरी वीरेन्द्रनगर नगरपालिकालाई सभाहल हस्तान्तरण गरिएको हो।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले २७ करोड लागतमा निर्माण गरेको उक्त सभाहल शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सभाहल व्यवस्थित रुपमा सञ्चालन गर्न सबै निकाय जिम्मेवार भएर लाग्न आग्रह गरिन्। विभिन्न खाले सभा सम्मेलनका लागि उपयुक्त हल भएकाले यसको सञ्चालन व्यवस्थित गरी त्यसवापत हुने आम्दानीले कर्णाली प्रदेशको अर्थतन्त्रलाई चलायमान राख्नुपर्नेमा उनले जोड् दिईन्।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव मणिराम गेलालले सभाहल सञ्चालनसँगै नियमित रुपमा मर्मतसम्भारलाई पनि ध्यान दिन आग्रह गरे।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले सभाहल निर्माणपछि सञ्चालनमा चुनौती भएकाले सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यस्तै साना तथा ठूला सभाहलहरु विभागले देशभर ४० वटा बनाउँदैछ।
प्रदेशका राजधानीहरुमा निर्माण भईरहेका ठूला सभाहलहरुमध्ये सुर्खेतमा निर्माण सम्पन्न भएको पहिलो सभाहल भएको उनले बताए।
सुर्खेत सभाहल २०७३ चैतबाट बन्न सुरु भएको थियो।