
सुर्खेत। पहिलो चरणमा अधिवेशन भएका कर्णाली प्रदेश ६ जिल्लामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ। पहिलो चरणमा सुर्खेत, सल्यान, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, जुम्ला, कालीकोट र दैलेखमा अधिवेशन भएको छ।
जसमध्ये दैलेख र कालीकोटमा बाहेकका अरु ६ जिल्लामा नेतृत्व चयन भएको छ।
कर्णाली प्रदेश कमिटीका अनुसार सल्यानमा गोविन्द पुन, रुकुम पश्चिममा नन्दराम देवकोटा, डोल्पामा शेरबहादुर बुढा र जुम्लामा शान्तिलाल महत सर्वसम्मत् अध्यक्षमा चयन भएका छन्।
यस्ते सुर्खेत र जाजरकोटमा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ। सुर्खेतमा अमृत बिसी र जाजरकोटमा खिमबहादुर शाही अध्यक्ष बनेका छन्। बिसी यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए।
दैलेखमा मंगलबार भएको निर्वाचनमा मतपत्र धेरै भएपछि निर्वाचन नै रद्द गरिएको छ। रविन्द्र शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धी रहेको दैलेखमा ७२१ मतदाता छन्। जसमध्ये मंगलबार ७१८ जनाले मतदान गरेका थिए।
मतपत्र खोल्दा भने ७४८ वटा मत्रपत्र भेटिएपछि दैलेखको निर्वाचन रद्द गरिएको हो। अब यो साताभित्र दैलेखमा फेरि चुनाव गराउने तयारी गरिएको छ। त्यसअघि कर्णाली प्रदेश कमिटीले एउटा छानविन समिति बनाएर यसअघिको निर्वाचनमा भएको त्रुटीबारेमा अध्ययन गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै यो साताभित्रै दैलेखमा पुनः मतदान गराईने एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले बताए।
यस्तै कालीकोटमा आज मतदान भईरहेको छ। लामो समयसम्म पनि सहमतिको प्रयास सफल नभएपछि बुधबार कालीकोटमा निर्वाचनमार्फत नेतृत्व छान्ने निर्णय भएको हो।
कालीकोटको अध्यक्षका लागि जसिप्रसाद पाण्डे र रमेश शाही उम्मेदवार छन्। जिल्लामा कुल ७८२ जना मतदाता रहेका छन्।
पहिलो चरणमा अधिवेशन हुन नसकेका कर्णालीका मुगु र हुम्लामध्ये मुगुमा २७ गतेदेखि अधिवेशन सुरु भएको छ। हुम्लामा भने माघ २३ गते अधिवेशन तय गरिएको छ।