
सुर्खेत। कोभिडको तेस्रो लहरको जोखिमका कारण बन्द भएका शैक्षिक संस्थाहरुमा आजदेखि भौतिक रुपमै पठनपाठन हुने भएको छ। आजबाट विद्यालय तथा क्याम्पसहरु खुल्ने भएका छन्।
माघको पहिलो सातामा सरकारले विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन नगर्न÷नगराउन सूचीत गरेको थियो।
कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहर जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई गत साता सिफारिस गरेको थियो।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको हो।
त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहनेगरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस गरिएको छ।
सिसिएमसीको सिफारिसअनुसार डान्सबार, दोहोरी, नाचघरलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन गर्न पाईनेछ।
कर्णाली टाइम्स
आइतवार, फागुन १, २०७८
