शनिबार, पुस ५, २०८२

नेपालमा रेलको नियमित परीक्षण सुरु, दुईसाता भित्रै भारत र नेपालका प्रधामन्त्रीले उद्घाटन गर्ने

  
कर्णाली टाइम्स आइतवार, फागुन १, २०७८


सुर्खेत। जनकपुर–जयनगर परीक्षणकालीन रुपमा रेल सञ्चालन गरिएको छ। ट्रयाकलाई नियमित रुपमा खाली राख्न र रेलको प्राविधिक अवस्था बुझ्नका लागि आजदेखि परीक्षणकालीन रुपमा रेल चलाउन थालिएको हो।
आइतबार दिउँसो धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवा रेल स्टेशनमा पार्किङ गरी राखिएको रेल जनकपुरधामस्थित कुर्था स्टेशनसम्म पुगेर इनरुवा फर्किएको छ।
नियमित रेल सञ्चालन अगाडि यात्रु नबोकी ‘ड्राइरन’ सञ्चालन गरिएको हो। परीक्षणका लागि पहिलो दिन चलाइएको रेल विभागका प्रमुख, सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहलगायत मात्र सवार भएका छन्।
नियमित रेल सञ्चालनमा अवरोध आउन नदिन आजदेखि उद्घाटन नभएसम्म दिनको एक पटक रेल चलाइनेछ। रेलको ईन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण गरिएको छ।
दुई साताभित्रै नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले रेल सेवाको उद्घाटन गर्ने योजना छ। रेल सञ्चालनका लागि कम्पनीले ८४ जना कर्मचारी नियुक्त गरी तालिम पनि प्रदान गरिसकेको छ।
कर्मचारीमध्ये ५८ जना नेपाली छन् भने २६ जना भारतीय छन्।
भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषामा थन्किएका थिए।