सुर्खेत। १४ बर्षीय छोरीलाई बलात्कार गर्ने दैलेखका एक जना बाबुलाई जिल्ला अदालत दैलेखले ४३ बर्ष कैद सजाय र एक लाख रुपैयाँ क्षतीपुर्तिको फैसला गरेको छ। जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको शुक्रबारको ईजलासबाट उक्त फैसला सुनाईएको हो।
दैलेख सदरमुकाम नजिकैका ३९ बर्षीय ती बाबुलाई छोरीलमाािथ हाडनाता करणी गरेको कसूरमा अदालतले २५ वर्ष र बलात्कार गरेको कसूरमा १८ वर्ष गरी ४३ बर्ष कैद सजायको फैसला गरेको हो।
मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) र ३ (ख) बमेजिम फैसला गरिएको हो।
२२० को उपदफा २ (क) मा जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणी भएमा जन्मकैदको व्यवस्था गरिएको छ। उपदफा ३ (ख) मा १०–१४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुने व्यवस्था गरिएको छ।
२०७७ मंसिर १९ गते १४ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएका थिए।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७७ पुस १६ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो।
कर्णाली टाइम्स
मंगलबार, फागुन १०, २०७८