बिहीबार, पुस १०, २०८२

वार्ताका लागि पदाधिकारी र व्यवसायीबीच बुधवार बसेको वैठक पनि निश्कर्षविहीन

  
कर्णाली टाइम्स बुधबार, फागुन १८, २०७८
फाईल तस्विर।

सुर्खेत उद्योग वाणिज्य संघमा विवादः

सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघ र व्यवसायीबीचको विवाद समाधानका लागि बुधवार बसेको वैठक विना निश्कर्ष टुंगिएको छ। संघका पूर्व तथा वर्तमान पदाधिकारी र असन्तुष्ट व्यवसायीबीच वार्ताका लागि बुधवार वैठक बसेको थियो।
छुटेका व्यवसायीहरुले आफ्नो सदस्यता नविकरण गर्नुपर्ने माग गर्दै आएका छन्। उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भने विधानमा दुई बर्षसम्म नविकरण नभएकाको सदस्यता खारेज गर्ने व्यवस्था भएकाले माग पूरा गर्न नसकिने अडान राखेका छन्।
व्यवसायीहरुले आफूहरु कोभिड महामारीका कारण नविकरण हुन छुटेकाले विशेष व्यवस्था गरी आफूहरु सदस्य बन्नुपर्ने माग राखेका छन्।
यसअघि असन्तुष्ट व्यवसायीहरुले उद्योग वाणिज्य संघको कार्यालयमा तालासमेत लगाएका थिए। वार्ताका लागि जिल्ला प्रशासन कार्यालयको रोहबरमा यसअघि बसेका वैठकहरु पनि विना निश्कर्ष टुंगिएका थिए।
सुर्खेत उद्योग वाणिज्य संघको चुनाव चैत अन्तिममा तोकिएको छ। आफूहरुलाई संघभन्दा बाहिर राखेर चुनाव घोषणा गरिएकोप्रति पनि व्यवसायीहरुले असन्तुष्टी जनाउँदै आएका छन्।
व्यवसायीका माग पूरा गर्ने विषयमा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीबीच पनि फरक मत छ। एउटा पक्षले विशेष व्यवस्थामार्फत व्यवसायीको माग पूरा गर्नुपर्ने पक्षमा छन् भने केही पदाधिकारी माग पूरा गर्न नसक्ने अडान राख्दै आएका छन्।