आइतवार, पुस ६, २०८२

प्रशासनसँगको चारबुँदे सहमतिपछि पीडित पक्षले रोके आन्दोलन

  
कर्णाली टाइम्स आइतवार, फागुन २२, २०७८

प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु प्रकरण:

सुर्खेत। प्रहरीको नियन्त्रणमा रहेका युवकको मृत्युपछि शनिबार तानवग्रस्त बनेको वीरेन्द्रनगर आइतबारदेखि शान्त बन्न थालेको छ। मृतकका आफन्तले शनिबार वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। प्रशासनसँगको सहमतिपछि आजबाट आन्दोलनका कार्यक्रम स्थगित गर्ने आफन्तले बताएका छन्।
शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का कृष्ण हमालको प्रहरीले नियन्त्रणमा राखेको भोलिपल्ट मृत्यु भएको थियो।
भे १ क ९२२ नम्बरको ट्रकमा आफ्नो किराना पसलको सामान लिएर हमाल आएका थिए। आफन्तका अनुसार हमालको कालीकोटको नाग्ममा किराना पसल छ।
उक्त ट्रकसहित चालक र सहचलकलाई पनि प्रहरीले सुब्बाकुनामै नियन्त्रण लिएर राखेको थियो।
सहचालक र हमाललाई प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तले आरोप लगाएका छन्। प्रहरीको कुटपिटबाट हमालको मृत्यु भएको भन्दै आफन्तले शनिवार वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए।
शनिबार बिहानमात्र सुब्बाकुना प्रहरी पोष्टले उनीहरुलाई पुर्जी काटेर छोडेको थियो।
प्रहरीले छोडेपछि बाटोमा आउनेक्रममा हमाल बोल्न नसक्ने अवस्थामा पुगेपछि चालक र सहचालकले सुर्खेत अस्पताल प्रालिमा लिएका थिए। सुर्खेत अस्पताल प्रालिले शनिबार बिहान सवा १० बजे हमाललाई मृत घोषणा गरेको हो।
घटनाको विषयमा सुर्खेत जिल्ला प्रशासन कार्यालयसँग चार बुँदे सहमति भएको छ। शनिबार बनाईएको छानविन समितिमा एकजना चिकित्सकलाई सदस्यका रुपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाही गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको छ।
हमालको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। मृतकका बाबाआमासहित केही आफन्त कालीकोटबाट आज सुर्खेत पुग्दैछन्।
प्रशासनले सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाएको छ ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा समितिको सदस्य रहेको छन्।
आफन्तसँगको सहमति अनुसार आज उक्त समितिमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. चन्द्रेश सिंहलाई सदस्यका रुपमा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसअघि समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। आफन्तको आग्रहपछि उक्त समय बढाएर ७ दिन बनाईएको छ।