
सुर्खेत। नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत बुधबार निर्वाचन प्रक्रिया चलिरहेको छ।
यसअघि विवादित बनेर स्थगित भएको एमाले दैलेखको अधिवेशन यसपटक फेरि भएको हो। बुधवार निर्वाचनअन्तर्गत मतदान सकिएको र मतगणना जारी रहेको एमाले कर्णाली प्रदेश कमिटी अध्यष विनोदकुमार शाहले बताए।
यसअघि पुस २३ गते भएको अधिवेशन विवादित बनेको थियो। नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनका क्रममा सहमागी मतदाताभन्दा बढी मत भेटिएपछि विवाद भएको थियो।
त्यसपछि निर्वाचन प्रक्रिया नै खारेज गरिएको थियो। पुस २४ गते बसेको एमालेको दैलेख जिल्ला कमिटीको १८ औं बैठकले पुस २३ गते भएको निर्वाचन प्रक्रिया खारेज गरी पुनः अधिवेशन गर्ने निर्णय गरेको थियो।
यो पटक पनि सूर्यबहादुर शाही र रविन्द्रराज शर्मा जिल्ला अध्यक्षका उम्मेदवार छन्।
उपाध्यक्ष प्रेमबहादुर बुढा र टोपबहादुर बिसी, सचिवमा रुद्रबहादुर शही र तिलक रिजाल उम्मेदवार छन्। उपसचिवमा आठ जना उम्मेदवार रहेको शाहले जानकारी दिए।
उनका अनुसार दलिततर्फका महिला र खुला सदस्यहरु निर्विरोध भएका छन्। भुगोलतर्फको महिला र खुला सदस्यहरुको लागि भने निर्वाचन भएको उनले बताए।
यो पटकको निर्वाचनमा ७२३ जना मतदातामध्ये ६८४ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएका छन्।
यसअघि विवादित बनेर खारेज भएको निर्वाचन प्रक्रियामा ७२३ मतदातामध्ये ७१७ जना मतदानमा सहभागी भएका थिए। तर मतपेटिकामा भने ७४८ मत भेटिएका थिए।
