
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह वैशाख मंगलबार हुने भएको छ। दीक्षान्त समारोह प्रचारप्रसार उपसमितिका अनुसार समारोहको लागि अधिकांश तयारी पूरा भएको छ।
दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार उपसमितिले जनाएको छ। यसका लागि देउवा मंगलबार बिहान सुर्खेत आउने तालिका छ।
देउवाले अध्यक्षता गर्ने समारोहको प्रमुख अतिथि भने भारतका नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी हुनेछ्न। उनी सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता हुन्।
समारोहमा यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल पनि सहभागी हुनेछन्।
प्रचारप्रसार उपसमितिका अनुसार दीक्षान्त समारोहमा विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिने छ। जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन्।
यस्तै स्नातक तहका ४० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा पंविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तिर्ण ४/४ जनालाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ।
समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तिर्ण २ जना र स्नातक तह उत्तिर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिने छ।
यस्तै विश्वविद्यालयमा अध्ययन गरेका ५१९ जनालाई समारोहको अवसरमा दिक्षित गर्न लागिएको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी गर्ने पूर्णमान श्रेष्ठ समारोहका क्रममा दिक्षित हुँदैछन्। विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका श्रेष्ठले व्यवस्थापन संकायमा आफ्नो शोधपत्र तयार पारेका थिए।
वीरेन्द्रनगर–८ कुईनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समारोह हुनेछ। दीक्षान्त समारोह अघि एक घण्टा विश्वविद्यालयको सिनेट सञ्चालन गरिने छ।
यो बर्ष हुन लागेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो। यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो।
कर्णाली टाइम्स
सोमवार, बैशाख ५, २०७९
