आइतवार, पुस ६, २०८२

निर्वाचन आचारसंहिता पालना गर्न दलहरु प्रतिबद्ध

  
कर्णाली टाइम्स सोमवार, बैशाख ५, २०७९


सुर्खेत। कर्णाली प्रदेशमा रहेका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेशस्तरीय संवाद समूहले शनिवार आयोजना गरेको एक कार्यक्रममा सहभागी दलका प्रदेश प्रमुख तथा प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्न र महिला सहभागिता बढाउन प्रतिबद्धता जनाएका हुन्।
स्थानीय तहको निर्वाचन २०७९ लाई व्यवस्थित बनाउन तयार पारिएको आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्ने र निर्वाचनमा महिला सहभागिता बढाउने विषयमा दलका प्रतिनिधिहरुले हस्ताक्षर गरी प्रतिबद्धता जनाएका हुन्।
नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका महामन्त्री कृष्णबहादुर रोकायाले गठबन्धन दलले निर्वाचन आचारसंहिता पालना गर्ने कुरामा नचुक्ने बताए।
आचारसंहिता मात्र नभएर समावेशी सिद्धान्तलाई पनि आत्मासात् गर्दै चुनावमा सहभागी हुने नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले प्रतिबद्धता जनाईन्।
संवाद समूहले आयोजना गरेको उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, परिवार दल, नागरिक दल, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरुका प्रदेश प्रमुख एवम् प्रतिनिधि सहभागी थिए।