
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनसंख्याको आधारमा बजेट विनियोजन हुँदासम्म कर्णालीको विकास र समृद्धि हुन नसक्ने बताएका छन्। सात प्रदेशमध्ये कर्णाली भूगोलका हिसावले ठूलो भएपनि जनसंख्याका आधारमा संघ तथा विभिन्न दातृ र साझेदार निकायले बजेट विनियोजन गर्दा कर्णाली पछाडि परेको मुखयमन्त्र शाहीले बताए।
उनले जनसंख्यासँगै भूगोललाई पनि आधार मानेर बजेट विनियोजन आवश्यक रहेको पनि बताए।
‘नेपालको २१ प्रतिशत भन्दाबढी भूगोल ओगटेको कर्णालीमा जनसंख्या १६ लाखको हाराहारीमा मात्रै छ,’ सोमबार युरोपेली संघ समावेशी संघीयता सहयोग कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भने, ‘जनसंख्यासँगै भूगोललाई पनि आधार मानेर सरकार तथा दातृ एवम् साझेदार निकायले बजेट विनियोजन गर्नु आवश्यक छ।’
मुख्यमन्त्री शाहीले संघीयताको मर्म अनुसार स्थानीय, प्रदेश र संघ सरकारबीच सहमति, सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले जनताको जीवनस्तर सुधार्न स्थानीय तहलाई प्रभावकारी बनाइनुपर्ने बताए।
‘स्थानीय तह जनताको चुल्होको सरकार हो, प्रदेश र संघ देखिने र सुनिने सरकार हुन्,’ मुख्यमन्त्री शाहीले भने, ‘स्थानीय तहलाई प्रभावकारी नबनाउँदासम्म जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्न।’
मुख्यमन्त्री शाहीले स्थानीय तहको संस्थागत क्षमताबृद्धिका लागि धेरै कामहरु गर्न आवश्यक रहेको बताउँदै युरोपेली संघ समावेशी संघीयता सहयोग कार्यक्रमले यसमा सघाउ पु¥याउने बताए। युरोपियन युनियन र युएनडीपीले दुई मिलियन युरो कर्णालीमा सहयोग गर्दैछ।
मुख्यमन्त्री शाहीले सबै सुचकहरुमा पछाडि परेको कर्णालीको समाजिक तथा आर्थिक विकासका लागि आर्थिक स्रोत तथा सामाजिक सशक्तिकरणको आवश्यकता रहेको पनि बताए। ‘कर्णालीलाई सिंहदरवारले हेर्न सकेन्, त्यसैले कर्णाली सबै सुचकहरुमा पछाडि प¥यो,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीका लागि संघीयता अझ धेरै महत्वपूर्ण छ।’
युरोपियन युनियनका राजदूत नोना डेप्रेजले प्रादेशिक तथा स्थानीय सुशासन कार्यक्रमलाई सहयोग गर्नका लागि पुरक कार्यक्रमका रुपमा कर्णालीमा मात्रै लागु गरिएको बताइन्। उनले तीन बर्षको अवधिमा स्थानीय तहको सेवा प्रवाह, सुशासन र समावेशी संघीयताको सुदृढिकरणमा कार्यक्रमले सघाउ पु¥याउने बताइन्।
कार्यक्रममा युएनडिपीका नेपालका लागि आवासीय प्रतिनिधि आयसानी लावेले हरेक सुचकांकमा कर्णाली प्रदेश पछाडि रहेकाले सशक्तिकरण र विकासका लागि कर्णालीलाई छनोट गरिएको बताइन्।
कर्णाली टाइम्स
सोमवार, बैशाख ५, २०७९
