
सुर्खेत। सत्ताठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ। शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने समय थियो। यो समयभित्र उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गरी अघि बढ्न सत्तागठबन्धनले आज निर्देशन दिएको हो।
कतिपय ठाउँमा केन्द्रले हस्तक्षेप गर्दै उम्मेदवारी फिर्ता लिएको पत्र पठाए पनि शुक्रबार ५ बजेपछि मात्रै पत्र पुग्दा उम्मेदवारी कायमै थियो।
आज बालुवाटारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी तयारी तथा अनुगमन समिति बैठकले सहमतिअनुसार उम्मेदवारी फिर्ता लिन मातहत निकायलाई निर्देश गर्ने निर्णय गरेको छ।
‘गठबन्धनको मर्म र भावनाअनुसार आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने। यो निर्णय पालना नगर्नेलाई आ–आफ्नो दलले कारबाही गर्ने निर्णय गर्ने,’ सहमतिको बुँदामा उल्लेख छ।
समय अभावले उम्मेदवारी फिर्ता नलिएको भए त्यस्ता ठाउँमा फिर्ता लिएको घोषणा गर्न पनि निर्देशन दिनेसमेत सहमति भएको छ।
‘पाँचदलीय गठबन्धनमा समझदारी भएको तर समझदारीअनुसार उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारीअनुसार कार्य गर्न आ–आफ्नो दलले आ–आफ्ना मातहतका निकायहरुसँग निर्देशन दिने निर्णय भएको छ,’ सहमति पत्रमा भनिएको छ।
कर्णाली टाइम्स
आइतवार, बैशाख १८, २०७९
