कर्णाली टाइम्स
मंगलबार, बैशाख २०, २०७९

सुर्खेत। आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन्। ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।
अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।
नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो। खुसीपूर्वक दान गरेर दीनदुखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो।
