
सुर्खेत। कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यद्यपि यो निर्णय तत्काल सार्वजनिक भने गरिएको थिएन।
सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ। राजपत्र प्रकाशित निर्णयअनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो।
ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ।
साउन १ गतेलाई साउने सक्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
साउन १७ गते साउन नाग पञ्चमी, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते कोजाग्रत पूर्णिमा, चैत्र १६ गते चैत्र रामनवमीको अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरिएको हो।
यस्तै असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ। उक्त दिन जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुनेछ।
कर्णाली टाइम्स
बुधबार, बैशाख २१, २०७९
