
सुर्खेत। स्थानीय तह निर्वाचन २०७९ को मतदान हुन अब ६ दिन मात्र बाँकी छ। २७ गते रातिदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगको तालिका छ।
त्यसअघि दलहरु अहिले घरदैलो, र्यालीसँगै चुनावलक्षित विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि दैनिक विभिन्न दलका ¥याली तथा घरदैलो कार्यक्रम भईरहेका छन्।
सुर्खेतमा स्थानीय तह निर्वाचनमा भाग लिन पाउने २५ वटा दलहरु छन्। तीमध्ये मुख्य पदमा उम्मेदवारी दिएका ठूला दलहरुले नियमित चुनावी कार्यक्रम गरिरहेका छन्।
वीरेन्द्रनगरमा ठूला दलमध्ये नेपाली काँग्रेस माओवादी केन्द्रबीच चुनावी तालमेल छ। नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरु एक्लै चुनावमा होमिएका छन्।
नेकपा एमालेबाट वीरेन्द्रनगरको मेयरमा मोहनमाया भण्डारी उम्मेदवार छन्। उनी २०७४ को स्थानीय तह निर्वाचनबाट उपमेयर बनेकी थिईन्। उपप्रमुख बनेर पाँच बर्ष कार्यकाल सम्हालेकी भण्डारी अब प्रमुख बन्ने प्रयासमा छन्। एमालेबाट यसअघि वडा नम्बर ४ का अध्यक्ष बनेका निलकण्ठ खनाल उपमेयरका उम्मेदवार छन्।
नेकपा एमालेले केही अग्रज नेता तथा कार्यकताहरुसहित वीरेन्द्रनगरमा गरेको र्याली तस्विरमा हेरौं।






