
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनअन्तर्गत नेपाली काँग्रेसलाई मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन्। मंगलबार अपिल जारी गर्दै उपसभापति खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न स्थानीय तहको यो निर्वाचनमा निर्भिकताका साथ सहभागी भई नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका हुन्।
उनले देशको उन्नति, प्रगति, राष्ट्रियताको रक्षा, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउने अठोटका साथ विकास र समृद्धिको योजना लिएर काँग्रेसका कार्यकर्ता घरदैलोमा पुगेको बताएका छन्।
उपसभापति खड्काद्वारा जारी अपिलमा भनिएको छ, ‘संविधान र लोकतन्त्रको रक्षा गर्न, प्रतिगमन परास्त गर्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पूरा गर्न र सबै दलहरुको साथ लिएर संविधान संशोधनमार्फत सबै समुदाय, क्षेत्र, वर्ग र लिंगका आधारमा थप अधिकारहरुलाई संविधानमा समेट्ने ऐतिहासिक जिम्मेवारी र दायित्वव फेरि नेपाली काँग्रेसको कँधमा आएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गराएर काँग्रेसले फेरि एक पटक संविधानको कार्यान्वयनमा ईटा थप्ने काम गरेको छ।’
जनताको घरदैलोको सरकारका रुपमा रहेका स्थानीय सरकारको भूमिका हरेक नागरिकका समस्या समाधान गर्नेतर्फ हुने भएकाले स्थानीय तह २०७९ को मतदानमा सहभागी भई काँग्रेसलाई जिताउन उनले आग्रह गरेका छन्।
स्थानीय तह २०७९ अन्तर्गत वैशाख ३० गते शुक्रबार मतदान हुँदैछ।
कर्णाली टाइम्स
मंगलबार, बैशाख २७, २०७९
