
सुर्खेत। निर्वाचन आयोगले मौन अवधि सुरु भएपछिका दुई दिन बुधवार र बिहिवार मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गरिहेको छ। देशभरका मतदान केन्द्रहरुबाट नयाँ मतदाताहरुलाई फोटोसहितको मतदाता परिचयपत्र वितरण भईरहेको छ। यस्तै मतदाता सहायता कक्षहरु स्थापना गरी मतदान गर्ने सही तारिकालगायतका विषयमा मतदाता शिक्षा दिने काम पनि आयोगले गरिरहेको छ।
मतदान केन्द्रका लागि खटिएका टोलीहरुबाट २०७७ माघ २४ गतेसम्म फोटोसहितको मतदाता नामावली कार्यक्रममा दर्ता भईसकेका १८ बर्ष पूरा भएका मतदाताले परिचयपत्र पाउँछन्।
मतदाता परिचयपत्र वितरणको काम कर्णाली प्रदेशका १ हजार ३८५ केन्द्रबाट भईरहेको छ। यस्तै विभिन्न ठाउँमा मतदाता शिक्षा सहायता कक्ष स्थापना गरेर मतदाता शिक्षा पनि दिने काम भईरहेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
‘सहायता कक्षबाट शिक्षा दिने काम भईरहेको छ, कर्मचारीहरु खटिईसक्नुभएको छ,’ आयोगका कर्णाली प्रदेश कार्यालय प्रमुख दुर्गा चालिसेले भने, ‘माघ २४ गतेसम्म दर्ता भएका मतदाताहरुले परिचयपत्र पनि पाईरहनुभएको छ।’
कर्णाली प्रदेशमा ९०७ वटा मतदान स्थलहरु छन्। त्यसअन्तर्गत १ हजार ३८५ मतदान केन्द्रहरु रहेका छन्।
आयोगका अनुसार सल्यानमा १११, डोल्पामा ६६, मुगुमा ६०, जुम्लामा ७६, कालीकोटमा ९९, हुम्लामा ५२, जाजरकोटमा ८५, दैलेखमा १३५, सुर्खेतमा १३८ र रुकुम पश्चिममा ७३ वटा मतदान स्थल छन्।
यस्तै कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्। २०७७ चैतसम्मको तथ्याङ्कअनुसार जसमध्ये सल्यानमा १ लाख ४० हजार ६६७, डोल्पामा २० हजार ७६, मुगुमा ३१ हजार ४३१, जुम्लामा ६१ हजार ६४५, कालीकोटमा ७२ हजार ८०, हुम्लामा २८ हजार ५४२ मतदाता छन्।
यस्तै जाजरकोटमा ९४ हजार ८७५, दैलेखमा १ लाख ४८ हजार ७२७, रुकुम पश्चिममा ९२ हजार ३४७ र सुर्खेतमा २ लाख ३८ हजार ४५७ मतदाता छन्। सुर्खेतको मतदाता संख्या भने पछिल्लो अपडेटअनुसारको हो।
परिचयपत्र नभए पनि पाईन्छ मतदान गर्न
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन्। त्यसका लागि मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्नेछ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए। मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्।
कर्णाली टाइम्स
बुधबार, बैशाख २८, २०७९
