
सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरी अधिकृतले गाउँलेसहित निर्वाचन अधिकृत र म्यादी प्रहरीमाथि कुटपिट गरेका छन्। पञ्चपुरी नगरपालिका–७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका हुन्।
कुटपिटबाट केन्द्रका मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही स्थानीय र म्यादी प्रहरीहरु समान्य घाईते छन्।
मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए। त्यहाँ चार जना स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेपछि स्थानीयले उनलाई लेखेटेका थिए।
राति गाउँलेबाट लखेटिएपछि प्रहरी र म्यादी प्रहरीले उनलाई उद्दार गरी मतदान अधिकृतलगायतका कर्मचारी सुतेको घरमा ल्याएका थिए। त्यहाँ पुगेपछि पनि उनले मतदान अधिकृत र सहायक मतदान अधिकृतमाथि हातपात गरेका थिए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ती प्रहरी अधिकृतले मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा पुगेर कुटपिट गरेको बुझिएकोले नियन्त्रणमा लिईएको छ। उनलाई आवश्यकता अनुसार निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको प्रहरीले जनाएको छ।
सई भट्टलाई बिहिवार बिहान ३ बजेतिर प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
कुटपिट गर्ने सई भट्ट सशस्त्र प्रहरी गण वीरेन्द्रनगरमा सहायक लेखा अधिकृत हुन्।
कर्णाली टाइम्स
बिहीबार, बैशाख २९, २०७९
