कर्णाली टाइम्स
शुक्रबार, बैशाख ३०, २०७९

सुर्खेत। सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर-२ रानीघाटमा सोही ठाउँका लालबहादुर पुलामीको मृत्यु भएको हो।
दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो। सोही रूखले किचेर पुलामीको घटना स्थलमै मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए।
हावाहुरीले वीरेन्द्रनगरमा रहेको रेडियो सुर्खेत एफएमको टावरसमेत ढलाएको छ। टावर ढलेपछि रेडियोको प्रशारण रोकिएको छ।
