कर्णाली टाइम्स
शनिबार, बैशाख ३१, २०७९

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ बर्षीय हृदय ढकालको मृत्यु भएको हो।
उनी वीरेन्द्रनगर नगरपालिकाकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृत हुन्। वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएका थिए। मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएको थियो।
मोटरसाईकलबाट उछिट्टिएर ढकाल बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएको थियो। प्रहरीका अनुसार ढकालको घटनास्थलमै मृत्यु भएको हो।
