शनिबार, बैशाख ८, २०८१

स्थानीय निर्वाचन २०७९ः सुर्खेतका पालिकामा एमालेले बढायो नेतृत्व, काँग्रेसले घटायो

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ ६, २०७९


सुर्खेत। स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत कर्णालीका सबै पालिकाको नतिजा सार्वजनिक भईसकेको छ। अहिलेको निर्वाचनबाट कर्णाली प्रदेशमा नेपाली काँग्रेस पहिलो शक्ति बनेको छ। माओवादी दोस्रो र एमाले तेस्रो बनेको छ।
सुर्खेतका ९ पालिकाका अन्तिम मतपरिणाम अनुसार सुर्खेतका नौवटा पालिकामध्ये नेपाली काँग्रेस र नेकपा एमालेले ४/४ पालिकाको नेतृत्व लिएका छन्। माओवादी केन्द्रले काँग्रेससँगको गठबन्धनबाट फाईदास्वरुप एउटा पालिकामा नेतृत्व लिएको छ।
नतिजाअनुसार अहिलेको निर्वाचनबाट नेपाली काँग्रेसले आफूले २०७४ को निर्वाचनबाट पाएको नेतृत्व समेत घटाएको छ। एमालेले भने एक पालिकामा थप नेतृत्व लिएर बढाएको छ। २०७४ मा एउटा पनि पालिकाको नेतृत्व नपाएको नेकपा माओवादी केन्द्रले अहिले भने सुर्खेतको एउटा पालिकामा नेतृत्व पाएको छ। काँग्रेससँग गरिएको गठबन्धनका कारण चौकुने गाउँपालिकामा माओवादीले नेतृत्व लिएको हो।
नेपाली काँग्रेसले अहिलेको निर्वाचनबाट काँग्रेस बलियो मानिएका र अघिल्लो निर्वाचनबाट नेतृत्व लिएका सुर्खेतका ६ मध्ये तीनवटा पालिका भेरीगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिका गुमाएको छ।
२०७४ को निर्वाचनबाट नेपाली काँग्रसले सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा नेतृत्व लिएको थियो।
यीमध्ये पञ्चपुरी, बराहताल, गुर्भाकोटमा गठबन्धन नगरेरै काँग्रेसले फेरि पनि नेतृत्व लिएको छ। काँग्रेसले गुमाएका तीनवटा पालिकाको नेतृत्व अहिले नेकपा एमालेले लियो।
एमालेले नेतृत्व लिएको लेकवेशी नगरपालिकामा अहिले प्रमुख काँग्रेसले जितेको छ। उपप्रमुख भने एमालेले नै जितेको छ।
अघिल्लो निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा काँग्रेसले जितेको थियो भने एमालेले उपप्रमुख जितेको थियो। अहिले वीरेन्द्रनगरका ११ वटा वडासहित प्रमुख र उपप्रमुख एमालेले नै जितेको छ।
यसअघि सिम्ता गाउँपालिका, लेकवेशी नगरपालिका र चौकुने गाउँपालिकामा एमालेले जितेको थियो। अहिले लेकवेशी र र चौकुने गुमायो भने सिम्तामा नेतृत्व कायमै राखेको छ। वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा पनि एमालेले नेतृत्व थपेको छ।
सुर्खेतको ९९ वटा वडामध्ये काँग्रेसले ५१ वटामा अध्यक्ष जितेको छ। एमालेले ४१ वटा वडा र ७ वटा वडामा नेकपा माओवादी केन्द्रले अध्यक्ष जितेको छ।