शुक्रबार, बैशाख १४, २०८१

बालवालिकाको सिकाई प्रभावकारी बनाउन बालविकास शिक्षक र जनप्रतिनिधिको सामूहिक प्रतिबद्धता

  
कर्णाली टाइम्स शनिबार, असार ४, २०७९


सुर्खेत। जाजरकोटको छेडागाड नगरपालिकाका प्रारम्भिक बालविकास शिक्षकहरुको प्रथम भेलाले सामूहिक घोषणापत्र जारी गरेको छ। संघीयतापछि देशमै पहिलोपटक पालिकास्तरमा जेठ २ र ३ गते भएको बालविकास शिक्षकहरुको सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गरेको हो।
बालविकासका बारेमा भएका असल अभ्यास, चुनौती तथा आगामी योजनाका बारेमा छलफल गरी भेलामार्फत सामूहिक घोषणापत्र जारी गरिएको हो। सामूहिक घोषणपत्रमार्फत प्रारम्भिक बालविकास शिक्षक, अभिभावक, जनप्रतिनिधि, बालवालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेन तथा यसका साझेदार गैरसरकारी निकायहरुले बालविकास र बालवालिकाको सिकाई सुधारको प्रतिबद्धता जनाएका छन्।
बालविकास उमेरका सबै बालवालिकाहरुलाई बालविकास केन्द्रमा भर्ना गरी निरन्तरताको सुनिश्चितता गर्ने, बर्षमा कम्तिमा पनि २२० दिन बालविकास केन्द्र खुल्ने, १९२ दिने पठनपाठन क्रियाकलापहरु सञ्चालनको सुनिश्चितता घोषणापत्रमार्फत गरिएको छ।
बालवालिकाहरुको दैनिक उपस्थिति ९० प्रतिशतभन्दा बढी सुनिश्चित गर्ने, बीचमै विद्यालय छोड्ने दरलाई शून्यमा झार्ने, बालविकास केन्द्रबाट अनुभवी बालवालिकालाई कक्षा १ मा जाने दर शतप्रतिशत गर्ने, नगरपालिकाबाट आवश्यकता अनुसार बालविकास केन्द्रहरुको विकास र विस्तार गर्ने सामूहिक प्रतिबद्धता घोषणापत्रमार्फत गरिएको छ।
बालविकास केन्द्रका शिक्षकहरुको आधारभूत तथा प्रारम्भिक साक्षरता र गणितीय सीपसम्बन्धि तालिम एवम् घुम्ती बैठकमार्फत क्षमता अभिवृद्धि गर्ने, गरपालिकाका सबै बालविकास केन्द्रहरुलाई नमूना बालविकास केन्द्रको रुपमा विकास गर्न बालविकास केन्द्रहरुको सिकाई सामग्रीहरुको व्यवस्थापन गर्ने, कम्तिमा एक वडा एक नमुना बालविकास केन्द्रहरुको स्थापना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमार्फत गरिएको छ।
नगरपालिकाका सबै वडाहरुमा अभिभावक शिक्षा, गृह विद्यालय, गृह शिक्षक, घरमै प्रारम्भिक साक्षरता र गणित तथा घरमै विद्यालय कक्षाहरुको विस्तार गर्ने, बालवालिकाहरुको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्ने, बर्षको दुइृपटक बालविकास केन्द्रहरुको अनुगमन गरी नमुना बालविकास केन्द्रहरुलाई पुरस्कृत गर्ने, बालविकास केन्द्रहरुको न्युनतम मापदण्डको सुनिश्चितता गर्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग र सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता पनि घोषणापत्रमार्फत गरिएको छ।
प्रारम्भिक बालविकास केन्द्रको नयाँ पाठ्यक्रम २०७७ अनुसार दैनिक पाठयोजनाको आधारमा कक्षालाई बालमैत्री बनाउने, विषयगत सीप सिकाइका क्षेत्रलाई पूर्णरुपमा समेटेर कार्यान्वयन गर्ने, प्रारम्भिक बालविकास केन्द्रहरुको गुणस्तर सुधार गर्न नगरपालिकास्तरीय एकिकृत रणनैतिक योजना र बालविकास केन्द्रका न्यूनतम मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत गरिएको छ।