शनिबार, असार १८, २०७९

कुशे गाउँपालिकाका बालविकास शिक्षकको पहिलो सम्मेलनबाट नौ बुँदे घोषणा पत्र जारी

  
कर्णाली टाइम्स सोमवार, असार ६, २०७९


सुर्खेत। जाजरकोटको कुशे गाउँपालिकाका प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुको पहिलो सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। शानिबार र आइतबार भएको गाउँपालिकास्तरीय प्रथम सम्मेलनबाट विभिन्न प्रतिबद्धतासहितको नौ बुँदे घोषणापत्र जारी गरिएको हो।
जनप्रतिनिधि र शिक्षकहरुले बालविकास केन्द्रको सुधार, लगानी अभिवृद्धि, सिकाई प्रभावकारिता लगायतका विषयमा सामूहिक प्रतिबद्धतासहित घोषणापत्र जारी गरेका हुन्।
गाउँपालिकामा प्रारम्भिक बालविकास केन्द्र उमेर समूहका सबै बालबालिकाह लाई बालविकास केन्द्रमा भर्ना सुनिश्चित गर्दै कम्तिमा १९२ दिन सिकाई क्रियाकलापहरु सञ्चालन गर्ने, बालवालिकाको उपस्थिति दर वृद्धि गर्ने, बालविकास केन्द्रबाट अनुभव लिई कक्षा १ मा जाने दरलाई क्रमशः शतप्रतिशत गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत गरिएको छ।
बालविकास केन्द्रका शिक्षकहरुको आधारभूत तथा प्रारम्भिक साक्षरता र गणितीय सीप विकास एवम् क्षमता अभिवृद्धि गर्ने, गाउँपालिका भित्रका सबै बालविकास केन्द्रहरुलाई नमूना बालविकास केन्द्रको रुपमा विकास गर्दै लैजाने, बर्षमा कम्तिमा २ पटक अनुगमन गर्ने, उत्कृष्ट बालविकास केन्द्र र शिक्षकलाई पुरस्कृत गर्ने प्रतिबद्धता जनाईएको छ।
बालविकास केन्द्रहरुको स्थापना र सञ्चालनको लागि पालिकास्तरीय बालविकास केन्द्रको न्यूनतम मापदण्ड तयार गरी कार्यन्वयन गर्ने, गृह विद्यालय तथा प्रारम्भिक साक्षरता र गणितलाई घरमै आधारित सिकाई क्रियाकलापहरु सञ्चालनको सुनिश्चित, बालविकास केन्द्रका कक्षालाई बालमैत्री बनाउने, बालविकास केन्द्रका शिक्षकहरुले उठाएका तोकिएको तलब कार्यान्वयनको माग सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत गरिएको छ।
गाउँपालिकाका जनप्रतिनिधि, प्रारम्भिव बालविकास केन्द्रका शिक्षकहरु, पालिकाका सम्बन्धित विभागका प्रमुख, बाल अभियानकर्ता, गैरसरकारी दातृ निकाय लगायतले उक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन्।
जाजरकोटमा संघीयतापछि पहिलोपटक दुईवटा पालिकामा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुको सम्मेलन गरिएको छ। असार २ र ३ गते छेडागाड नगरपालिकामा भएको भेलाबाट विभिन्न प्रतिबद्धतासहित १५ बुँदे घोषणापत्र जारी गरिएको थियो।
यी दुई सम्मेलनमा प्रारम्भिक बालविकासका लागि कर्णाली प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समूहका संयोजक सिता नेपालीले सम्बोधनसँगै प्रशिक्षण दिएकी छन्।
शिक्षाविद् जीतबहादुर शाहले दुवै सम्मेलनमा सहभागी भएर प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुलाई सम्बन्धित विषयको नीति, अभ्यास र अबको योजना लगायतका बारेमा प्रशिक्षण दिएका थिए।