आइतवार, पुस ६, २०८२

सार्वजनिक संरचनाहरुको समान पहुँच परीक्षण

  
कर्णाली टाइम्स शुक्रबार, असार १७, २०७९


सुर्खेत। राष्ट्रिय अपांग कर्णाली प्रदेश कार्यालयले विभिन्न सार्वजनिक तथा सरकारी कार्यालयहरुको पहुँच परीक्षण (एक्सेसिबिलिटी अडिट) गरेको छ।
महासंघले बिहिवार वीरेन्द्रनगरका केही कार्यालयहरुमा परीक्षण गरेको हो। भवन तथा भवनमा भएका सेवासुविधा, जानकारी मूलक सूचना लगायत समान पहुँचयुक्त छन्÷छैनन् भन्ने विषयमा महासंघले प्रत्यक्ष रुपमा परीक्षण गरेको हो।
वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नगर अस्पताल, वडा नम्बर ५ को कार्यालय र विद्यालयमा समान पहुँचबारे परीक्षण गरिएको हो।
परीक्षणका क्रममा समान पहुँचको मापदण्ड पूरा भए/नभएको जाँच गर्न प्राविधिक, अपाङ्गता भएका व्यक्तिहरु र सम्बन्धित सरोकारवालाहरुलाई सहभागी गराईएको थियो।
‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तर्गत यो बर्ष महासंघले प्रदेश तहमा उच्च अदालत र सामाजिक विकास मन्त्रालयको परीक्षण गरेको छ।
यस्तै सुर्खेतका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा पनि पहुँच परीक्षण गरिएको राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका जनवकालत संयोजक जीतलाल ढकालले जानकारी दिए। उनका अनुसार सुर्खेतको लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका र दैलेखको गुराँस गाउँपालिकामा पनि पहुँच परीक्षण गरिएको छ।
पालिकाअन्तर्गत पालिकाका भवन, स्वास्थ्य संस्था, वडा कार्यालय र विद्यालयका परीक्षण गर्ने गरिएको छ।
परीक्षणपछि प्रतिवेदन तयार पारेर सम्बन्धित कार्यालयलाई नै दिईनेछ। उक्त प्रतिवेदनका आधारमा कार्यालयहरुले आफ्नो संरचनाहरुलाई समान पहुँचयुक्त हुनेगरी सुधार गर्न सुझावसहित प्रतिवेदन दिईने ढकालले बताए।
पहुँच परीक्षणका क्रममा तोकिएको मापदण्ड अनुसार पूर्ण रुपमा कार्यालय भवन निर्माण भएको नपाईएको राष्ट्रि अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले बताए। ‘अहिले त यो परिपाटी नै सुरु भईसकेको छैन, समान पहुँचयुक्त भवन बनाउन निर्देशिका नै बनेपनि कार्यान्वयनको अवस्था फितलो छ।’ उनले भने।
अध्यक्ष शर्माले भवन निर्माण आचारसंहिता, २०५९ कार्यान्वयनका लागि महासंघको पहल जारी रहेको बताए।