शनिबार, बैशाख १५, २०८१

व्यक्तिगत सहयोगमा बन्यो बहुमुखी क्याम्पसको चारकोठे शैक्षिक भवन

  
कर्णाली टाइम्स शुक्रबार, असार १७, २०७९


सुर्खेत। व्यक्तिगत सहयोगमा सुर्खेत बहुमुखी क्याम्पसको चारकोठे भवन बनाईएको छ। क्याम्पसमा पठनपाठनका लागि आवश्यक भवनको अभाव भएका बेला व्यक्तिगत सहयोगमा चारकोठे पक्की भवन बनेको हो।
वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना दिवंगत श्रीमान भिमबहादुर मल्लको सम्झनामा शैक्षिक भवन बनाउने आर्थिक सहयोग गरेकी हुन्। उनको सहयोगबाट बनेको भवनको नाम ‘भिम कमला शैक्षिक भवन’ राखिएको छ।
उनले क्याम्पसको भवन निर्माणका लागि १ करोड ३ लाख २९ हजार ८८२ रुपैयाँ दान गरेकी हुन्। उक्त रकमबाट क्याम्पसकै जग्गामा शैक्षिक भवन निर्माण गरिएको छ।
शुक्रबार उक्त भवनको उद्घाटन शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले उद्घाटन गरेकी छन्। सोही अवसरमा उक्त भवन निर्माता मल्लले क्याम्पसलाई हस्तान्तरण पनि गरेकी छन्।
मल्लले दिएको रकममध्येबाट २५ लाख १ हजार रुपैयाँ बराबरको ‘भिमकमला मल्ल छात्रवृत्ति अक्षय कोष’ समेत स्थापना गरेकी छन्। क्याम्पस प्रमुख माधवप्रसाद खनालका अनुसार यसबाहेकको रकम शैक्षिक भवन निर्माणमा लगाईएको हो।
भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमको सम्बोधन गर्न सुर्खेत पुगेकी शिक्षा राज्यमन्त्री यादवले मल्ललाई धन्यवद दिईन्। बहुमुखी क्याम्पसले आफैंमा गौरवमय इतिहास बोकेको संरचना भएकाले अझै प्रभावकारी रुपले अगाडि बढ्नुपर्ने सुझाव दिईन्।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खनालले झण्डै ५० बर्षको अवधिमाा क्याम्पसले थूप्रै आरोह–अवरोह खेपेको बताए। राज्यबाट समेत क्याम्पस उपेक्षामा पर्दै आएको उनले बताए।
खनालका अनुसार अहिले क्याम्पसमा ३७ जना मात्र कर्मचारीहरु रहेका छन्। आजभन्दा ५ बर्ष अघिसम्म ६४ जना कर्मचारी थिए। आर्थिक अभावकै कारण क्याम्पसमा आवश्यक प्रविधिमैत्री सामानहरु खरिद गर्न नसकिएको खनालले बताए।