शनिबार, पुस ५, २०८२

के कर्णालीबासीले उच्च कोटीको उपकरण उपयोग गर्न नमिल्ने हो ?

  
कर्णाली टाइम्स बिहीबार, असार २३, २०७९

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले उच्च क्षमतायुक्त अत्याधुनिक एमआरआई मेसिन ल्याउने भएको छ । करिब २८ करोड रुपैयाँ पर्ने उक्त मेसिन खरिदको लागि अस्पतालले प्रक्रिया सुरु गरिसकेको छ ।

अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार खरिद गर्न लागिएको एमआरआई मेसिन हाल नेपालमा रहेकामध्ये उच्च क्षमतायुक्त र गुणस्तरको रहेको छ । संघीय सरकारको बजेटमा खरिद गर्न लागिएको मेसिन अबको करिब ८ महिनामा जडान गरि सञ्चालनमा ल्याइसकिने उनको भनाइ छ । डा. खड्काका अनुसार अस्पतालले एलसी खोलेर मेसिन उत्पादक कम्पनीलाई सिधै भुक्तानी गर्ने गरी खरिद प्रक्रिया अघि बढाएको छ । ६४ आरएफ क्षमताको उक्त मेसिन साइमन्स हेल्थकेयर जर्मनीले उत्पादन गर्दछ ।

अस्पतालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमआरआई मेसिनबारे आधारहीन भ्रम छरिएको समेत बताएको छ । कर्णालीजस्तो पिछडिएको क्षेत्रमा उच्च क्षमतायुक्त मेसिन ल्याउँदा खुसी हुनुपर्नेमा नकारात्मक टिप्पणी गरिँदा अस्पताल दुःखी भएको अस्पताल निर्देशक डा.खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘के कर्णालीका बिरामीले उच्च कोटीको स्वास्थ्य उपकरण उपयोग गर्न नमिल्ने हो र ?’ अस्पतालले प्रश्न गर्दै भनेको छ, ‘दक्ष जनशक्ति र अत्याधुनिक उपकरणको अभावमा बाहिर जानुपर्ने बाध्यता बोकेका कर्णालीबासीले मेसिन सञ्चालनमा आएपश्चात सुर्खेतमै उच्च कोटीको उपकरणबाट स्वास्थ्य सेवा पाउने छन् ।’

काठमाडौंस्थित निजामति कर्मचारी अस्पतालले खरिद गर्न थालेको एमआरआई मेसिनसँग तुलना गरेर महँगोमा खरिद गर्न लागिएको भन्दै त्यसको खण्डनसमेत गरेको छ । ‘निजामति अस्पतालले खरिद गर्न थालेको एमआरआईभन्दा प्रदेश अस्पतालले खरिद गर्न थालेको एमआरआईको क्षमता दोब्बर बढी छ । निजामति कर्मचारी अस्पतालको एमआरई ३२ आरएफम च्यानल र प्रदेश अस्पतालको ६४ आरएफ च्यायनल क्षमताको रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कुरा तथ्य नबुझेर अनुमानको भरमा गरिएको भ्रममात्र हो । निजामति कर्मचारी अस्पतालले खरिद गर्न खोजेको एमआरआई उपकरण प्रदेश अस्पतालले समेत सोही मुल्यमा सहजै खरिद गर्न सक्छ ।’ प्रदेश अस्पतालले खरिद गर्न लागेको मेसिनले दैनिक करिब ४५–५० बिरामी र निजामति कर्मचारी अस्पतालले खरिद गर्न लागेको मेसिनले दैनिक करिब ३०–३५ बिरामीको चेकजाँच गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश अस्पतालले एमआरआई मेसिन खरिदबारेका भ्रम र तथ्य स्पष्ट पार्दै जारी गरेको प्रेस विज्ञप्ति :