बुधबार, पुस ९, २०८२

उच्च अदालत सुर्खेतले गर्यो ७६९ मुद्दा फर्छ्योट

  
कर्णाली टाइम्स बिहीबार, असार ३०, २०७९


सुर्खेत। आर्थिक बर्ष ०७८/७९ मा उच्च अदालत सुर्खेतले ७६९ थान मुद्दा फर्छ्योट गरेको छ। असार २९ गतेसम्म उच्च अदालत सुर्खेतले कुल १ हजार २१ थान मुद्दामध्ये ७६९ फर्छ्योट गरेको हो।
यो आर्थिक बर्षमा ५६१ थान मुद्दा फर्छ्योट गर्ने लक्ष्य भएपनि त्यसभन्दा धेरै फर्छ्योट भएको उच्च अदालत सुर्खेतले जनाएको छ। यो प्रगति लक्ष्यभन्दा ७१ प्रतिशत बढी हो।
गत आर्थिक वर्ष २०७७र७८ मा ७३३ थान मुद्दामध्ये ४६८ थान मुद्दा फर्छ्योट गरिएको थियो। गत आर्थिक बर्षबाट दायित्व सरेर आएका २६५ र यस आर्थिक बर्षमा दर्ता भएका ७५६ गरी १ हजार २१ मुद्दा उच्च अदालत सुर्खेतमा थिए।
अब फर्छ्योट गर्न बाँकी मुद्दाहरु २६५ वटा छन्। यी मुद्दाहरु अधिकांश ६ महिनाभित्र दर्ता भएका हुन्।
उच्च अदालत सुर्खेतमा परेका फौजदारी मुद्दामध्ये जबर्जस्ती करणीसम्बन्धि सबैभन्दा बढी रहेका छन्। दोस्रोमा ज्यान मुद्दा र तेस्रोमा लागूऔषध सम्बन्धि मुद्दा पर्ने गरेको उच्च अदालत सुर्खेतले जनाएको छ।