सोमवार, साउन २३, २०७९

पढाइ पूरा गर्न नागरिकता कानुन कुरेर बसेका अयुब

  
कर्णाली टाइम्स शनिबार, साउन १४, २०७९


सुर्खेत। नेपालको संविधानमा भएको नागरिकतासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि संघीय सरकारले ल्याएको नागरिकता विधेयक संघीय संसदका दुवै सदनबाट पारित भयो।
नागरिकता कानुनलाई संशोधन गर्न बनेको विधेयक पारित भएपछि कतिले स्वागत गरेका छन् कतिले आलोचना।
नेपाली नागरिक पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्कालै नागरिकता पाउने व्यवस्थामा नेकपा एमालेले चर्को विरोध जनाएको छ। उसले सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने तर्क अघि सारेर विरोध जनाएको हो। यो विधेयकले पनि महिलामाथि भेदभाव गरेको भनेर विरोध पनि भई नै रहेको छ।
यसैबीच सुर्खेतका अयुब बक्सलाई भने अब आफ्नो सपना पूरा हुने बाटो बन्दै गएको महसुस भएको छ। नागरिकता प्रमाणपत्र नभएर हरेक प्रगतिको मार्ग अवरूद्ध भएका अयुब कानुन प्रमाणीकरण भएर कार्यान्वयन कहिले होला भन्ने प्रतीक्षामा छन्।
वीरेन्द्रनगर नगरपालिका–११ का बासिन्दा अयुबले कक्षा १२ उत्तीर्ण गरेको चार वर्ष भयो। उनका शैक्षिक प्रमाणपत्र दराजमै थन्किएका छन्। ती प्रमाणपत्र पेस गरेर उच्च शिक्षा पढ्ने उनको धोको अधुरै छ। रोजगारीको मौका पनि पाएका छैनन्। उनी अहिले २३ वर्षका भए।
‘सोह्र वर्ष भएपछि नागरिकताको लागि प्रशासनमा पुगेँ। आमाको नामबाट नागरिकता दिने कानुन रहेनछ। कानुन बनेपछि यही कागजात लिएर आउनू भनेर पठाए,’ उनले भने, ‘बाह्र कक्षापछि ब्याचलर (स्नातक) पढौं भनेर प्रयास पनि गरेँ। मध्यपश्चिम विश्वविद्यालयमा डिनलाई भेटेर आग्रह गरेँ तर पढ्न पाइनँ।’
नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने ठाउँमा रोजगारीको सम्भावना नै भएन। निजी क्षेत्रमा सवारी चालकको काम गर्ने प्रयास गरे। गाडी साहुहरुसँग सम्पर्क गरे। यता पनि काम भएन। नागरिकता प्रमाणपत्र नभई सवारी चालक अनुमति अर्थात् लाइसेन्स बन्दैन।
‘ब्याचलर पढ्दै गर्ने, सँगै भाषा पनि सिकेर ब्याचलर सकिनेबित्तिकै कोरिया जाने योजना थियो,’ अयुबले भने, ‘नागरिकता नै नभएपछि इच्छा मात्र भएर पनि नहुँदो रहेछ।’
अयुबका बुवा मुन्ताज अली भारतबाट आएका हुन्। उनले यतै वीरेन्द्रनगरकी मिशारुन बिबीसँग बिहे गरे, घरजग्गा जोडे।

मुन्ताज २०४३ सालमा भारतबाट इँटाभट्टा सञ्चालनको ठेक्का लिएर सुर्खेत आएका थिए। त्यसपछि यतै बसे। सुर्खेतमै २०५३ सालमा उनको बिहे भयो।
नेपाली युवतीसँग बिहे भएपछि मुन्ताज आफ्नो नागरिकताको प्रमाणपत्र बनाउन सम्बद्ध सबै ठाउँमा धाए। बेलाबेला सुर्खेतका अगुवा र नेतासँग पनि हारगुहार गरे। उनीहरू मुन्ताजलाई प्रमुख जिल्ला अधिकारीकोमा पु¥याउँथे। जति प्रयास गरे पनि नागरिकता पाएनन्।
‘नागरिकताको लागि जाँदा भारतमा केही नभएको प्रमाण ल्याउनू भने, भारतबाट त्यो प्रमाण पनि ल्याएँ,’ उनले भने, ‘पछि भारतको नागरिकता त्यागेको प्रमाण ल्याउनू भने। उता मेरो नागरिकता नै बनेको थिएन।’
आफूसँग नेपालको नागरिकता नभएको र आमाको नामबाट नागरिकता पाउने प्रावधान नभएकाले छोराछोरी पनि नागरिकता पाउनबाट बञ्चित भएको मुन्ताजले बताए।
‘जेठो छोराले १२ कक्षा पास गरेर पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्न पाएन। अर्को छोराले यस्तै समस्या आउने थाहा पाएर सात कक्षा पढ्दापढ्दै छोडिदियो,’ उनले भने, ‘यहाँ पढ्नै नपाउने भएपछि विदेश गएर त कमाऊलान् भनेको, त्यो पनि नागरिकता नभई नहुने रहेछ।’
मुन्ताजकी श्रीमती मिशारुनसँग नेपाली नागरिकताको प्रमाणपत्र छ। उनको नागरिकता माइतीबाट हो। आमाको नागरिकताका आधारमा छोराछोरीको जन्मदर्ता भने भएको छ।
मुन्ताजले २०५५ सालमा सुर्खेतमा जग्गा किने। त्यही बेला घर पनि बनाए। ‘मैले झूटो विवरण दिएर नागरिकता लिन खोजिनँ, इमानदार बनेर बसेँ,’ उनले भने, ‘मिल्यो भने लिऊँला नत्र बेइमानी गर्दिनँ भनेर यतिकै बसेको हुँ।’
मुन्ताज अहिले ६२ वर्षका भए। उनीहरुका दुवै छोराको बिहे भयो तर नागरिकता नहुँदा बिहे दर्ता भएको छैन।
‘नागरिकता नहुँदा धेरै समस्या भयो, छोराहरूले जागिर खान खोजे तर पाएनन्। विदेश पठाउन पनि मिलेन,’ मिशारुनले भनिन्, ‘हामीले धेरै दुःख भोग्नु परेको छ। हामीले चिनेका नेता र सांसद कसैलाई पनि भन्न बाँकी राखेनौं। कानुन बनेपछि जानकारी गराऊँला भन्नुभयो।’

परिवारको सबै सम्पत्ति मिशारुनको नाममा छ। मुन्ताज र मिशारुनका तीन छोराछोरी छन्। अयुबपछि छोरा याकब २० वर्षका छन्। छोरीमा नियाँजुन खातुन ११ वर्षकी छन्, सात कक्षामा पढ्छिन्।
संविधानमा नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था छ।
नागरिकता विधेयकमा सोहीअनुसार व्यवस्था गरिएको छ। विदेशी पतिबाट नेपाली आमाले जन्माएको सन्तानले अंगीकृत नागरिकता पाउन नेपालमै बसोबास गरेको र बाबुको देशको नागरिकता नलिएको हुनुपर्छ।
अयुब नागरिकता पाएपछि स्नातक तहमा भर्ना हुने योजनामा छन्। ‘सबैभन्दा ठूलो कुरा त पढाइ हो, पढाइ पूरा गर्नुप¥यो,’ उनले भने, ‘नागरिकता भएपछि अरु अवसर पनि आऊलान्।’
अयुबलाई भने नयाँ कानुनले पनि के भन्छ थाहा छैन। उनी आफ्नो आमा नेपाली भएपछि आफूले वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताउँछन्।
‘मेरो आमा नेपाली हो, उहाँको नागरिकता पनि वंशज नै छ। यस्तोमा त मैले पनि वंशज नागरिकता पाउनुपर्यो नि,’ अयुबले प्रश्न गरे, ‘अंगीकृत त उहिले नै बनाइहाल्थेँ नि। आमाको नामबाट वंशजको नागरिकता पाइने होला भनेर कुरेको हो, यस्तो पनि कानुन हुन्छ र?’ सेतोपाटीबाट