सुर्खेत। जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको रत्न राजमार्ग खुलेको छ। राजमार्गको बीच भागमा पर्ने बबईमा सोमबार बिहान ११ बजेदेखि स्थानीयले सडक अवरुद्ध पारेर आन्दोलन गरेका थिए। स्थानीय र प्रशासनबीचको सामान्य छलफलपछि बेलुका राजमार्ग खोलिएको हो।
मंगलबार स्थानीय र बर्दीया राष्ट्रिय निकुञ्जको टोलीबीच सम्बनिधत विषयमा वार्ता गर्नेगरि अवरुद्ध पारिएको सडक खोलिएको प्रहरीले जनाएको छ।
आइतबार बेलुका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवी ओलीको राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा शव फेला परेको थियो। बर्दीया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका उनीहरुको जंगली जनावरले आक्रमण गरेर मृत्यु भएको निश्कर्ष निकालिएको छ।
त्यहाँका स्थानीयले मानिसलाई आक्रमण गर्ने जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने तथा आफ्नो नजिक पर्ने राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राखेका छन्।
कर्णाली टाइम्स
सोमवार, साउन ३०, २०७९