बिहीबार, फागुन १, २०८१

तेस्रो पटक घटेर आयो पेट्रोलको मूल्य

  
कर्णाली टाइम्स मंगलबार, साउन ३१, २०७९


सुर्खेत। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।
चिनियाँ अर्थतन्त्र क्रमिक रुपमा घट्दै गइरहेकोले यसको असर ऊर्जाको मागमा पर्ने अपेक्षाले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) ९५ डलरमा कारोबार भइरहेको छ।
गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो। त्यो बेलाको भाउभन्दा अहिले करिब २८ डलर कम भइसकेको छ।
यसैअनुसार आइओसीले मंगलबार नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ ९० पैसा र डिजेलमा ४ रूपैयाँ ७५ पैसा घटाएर पठाएको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपाल आयल निगमलाई तीन पटकसम्म मूल्य घटाएर पठाइसकेको छ।
पहिलो पटक असार ३२ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो।
त्यस्तै, दोस्रो पटक साउन १६ गते प्राप्त मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।
नेपाल आयल निगमले भने दुवैपटक उपभोक्ताको लागि मूल्य घटाएको छैन।