![](http://karnalitimes.com/wp-content/uploads/2022/01/National-Assembly-Election-e1661418991213.jpg)
सुर्खेत। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सुर्खेतबाट २ लाख ४७ हजार ७४० जना मतदाता सहभागी हुने भएका छन्। कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा गरी झण्डै ढाईलाख मतदाता रहेका छन्।
कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ७५ जना र क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६६५ जना मतदाता रहेका छन्।
सुर्खेतका कुल मतदातामध्ये १ लाख २७ हजार २६ जना महिला छन् भने १ लाख २० हजार ७१४ जना पुरुष छन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार यही भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ। भदौ १३ देखि १५ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन समय दिईएको छ। यसका लागि सम्बन्धित नाम दर्ता अधिकारीको कार्यालयमा पुग्नुपर्नेछ।
मतदाता नामावलीमा कसैको झुटो विवरण भए उजुरी दिने समय पनि भदौ १३ देखि १५ गतेसम्म राखिएको छ। कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए निश्चित स्थान कायम गर्न पनि सोही समय तोकिएको छ। यसका लागि प्रमुख नाम दर्ता अधिकारीमार्फत निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ।
मृत्यु भएका वा नागरिकता त्याग गरेको मतदाताको नाम नामावलीबाट हटाउन सूचना दिने समय भदौ १३ देखि १६ गतेसम्म तोकिएको छ। सोही समयभित्र बसाइँ सरी अन्यत्र गएका वा नागरिकता रद्द मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्न सकिनेछ।
नामावलीबारे उजुरी परेको मतदातालाई सफाई दिने मौका भदौ १३ देखि १७ गतेसम्म तोकिएको छ।
बिहिवार निर्वाचन कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट भूमिका खेल्न जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज लगायतलाई आग्रह गरेका छन्।