बुधबार, माघ ३०, २०८१

एमालेका ‘मुख्यमन्त्री उम्मेदवार’ सँग कांग्रेसबाट भिड्ने को ?

  
कर्णाली टाइम्स शनिबार, भदौ १८, २०७९

प्रारम्भिक दृष्य हेर्दा एमालेबाट कर्णाली प्रदेशको आगामी मुख्यमन्त्रीमा यामलाल कँडेल अघि सारिएका छन् । एमालेले सुर्खेतको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (क) बाट उनको नाम एकल रुपमा उम्मेदवारमा सिफारिस गरेपछि प्रदेशसभाको दोस्रो कार्यकालको लागि एमालेले आफ्नो नेतृत्वको स्पष्ट संकेत गरेको छ । पार्टी स्थायी कमिटी सदस्य र कर्णाली प्रदेशका इन्चार्जसमेत रहेका कँडेलको चाहनामा उनको नाम सिफरिस भएकोमा कुनै शंका छैन । पाँच दलीय वर्तमान सत्ता गठबन्धन आगामी संसदीय निर्वाचनको लागि चुनावी गठबन्धन गर्ने दिशामा अघि बढिरहेको बेला कर्णालीमा एमालेको अवस्था के हुन्छ ? स्वयं कँडेलको निर्वाचन परिणाम के होला ?

अहिलेलाई यी प्रश्न भविष्यको जिम्मा छोडौं । बरु उनीसँग प्रतिस्पर्धा गर्न कांग्रेसबाट मैदानमा को उत्रिएला ? तत्कालको लागि यसले सुर्खेतसँगै समग्र कर्णालीको ध्यान खिचेको छ । किनभने कर्णालीको आगामी सत्ता नेतृत्वको प्रमुख दावेदार मानिएका दुई दल कांग्रेस र माओवादी केन्द्रले आफ्नो तर्फबाट मुख्यमन्त्रीको संभावित नाम बाहिर नल्याउँदै एमालेले भने कँडेललाई प्रदेशसभामा सिफारिस गरेर मुख्यमन्त्रीको उम्मेदवार भएको सन्देश दिएको छ । यो अवस्थामा उनलाई प्रदेशसभामा जान नदिन सुर्खेतमै रोक्ने बलियो प्रतिस्पर्धीको लेखाजोखा सुरु भएको छ ।

एमालेबाट कँडेलको नाम एकल रुपमा सिफारिस हुँदा कांग्रेसले ९ जनाको नाम सिफारिस गरेको छ । सुर्खेतको प्रदेशसभा २ (क) मा सत्ता गठबन्धन भएमा कांगे्रसको भाग पर्ने निश्चितजस्तै छ । गठबन्धन नभएमा पनि एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेस नै हो । माओवादी केन्द्रले पनि रत्नबहादुर गाहाको नाम सिफारिस गरेको छ ।

कांग्रेसबाट गोविन्द कोइराला, कालिप्रसाद शाक्य, कमलराज रेग्मी, तीर्थजंग शाही, बालदीप कँडेल, देवकुमार सुवेदी, कर्ण बुढा, नारायण सापकोटा र हरि विष्टको नाम सिफारिस भएको छ । पार्टीको आन्तरिक राजनीतिमा यो क्षेत्रलाई संस्थापनइतर नेता हृदयराम थानीको परम्परागत पकड क्षेत्र मानिन्छ । तर नगरदेखि क्षेत्र हुँदै जिल्ला, प्रदेश र केन्द्रसम्म संस्थापनको नेतृत्व रहेको अवस्थामा थानी समूहले पाउने संभावना कति ? यो अर्कै बहसको पाटो भयो । तर यही पाटोसँग सिफारिसमा परेका एक आकांक्षी रेग्मीलाई जोड्न भने सकिन्छ । पार्टीका पूर्व जिल्ला सभापति रेग्मी थानी समूहका प्रमुख पिलर हुन् । २०७४ को निर्वाचनमा पनि उनी कँडेलसँग भिडेका थिए । यसपटक चाहिँ उनको पुनः उम्मेदवार बन्ने संभावना नेता थानीमा निर्भर छ । थानी स्वयं प्रतिनिधिसभामा सिफारिस भएकाले उनले टिकट पाएमा रेग्मीको संभावना करिब समाप्त हुनेछ । किनभने गठबन्धन भएको अवस्थामा कांग्रेसले सुर्खेतका ६ (प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ ) निर्वाचन क्षेत्रमध्ये ३ वा ४ सिट पाउन सक्छ । यस्तो अवस्थामा कांग्रेसभित्र थानी समूहले पाउने भनेको १ वा २ सिट हो । थानी प्रतिनिधिसभामा गएको अवस्थामा १ सिटमै चित्त बुझाउनुपर्ने हुन सक्छ । थानी उम्मेदवार बन्न नचाहेको अवस्थामा भने सुर्खेत २ (क) मा रेग्मीको संभावना बढेर जान्छ । रेग्मी पार्टी सभापतिको रुपमा परीक्षण भइसकेका नेता हुन् । उनको नेतृत्वमा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत स्थानीय तह जितेको थियो ।

थानी समूहका संभावना बोकेका नेता नारायण कोइरालाको नाम सिफारिसमा नपर्नुलाई चाहिँ आश्चर्यपूर्ण रुपमा हेरिएको छ । उनको नाम किन सिफारिसमा परेन ? यसबारे यही आलेखमा छुट्टै उल्लेख गरिएको छ ।

सिफारिसमा परेका संस्थापन समूहका अन्य नेताहरु टिकटको लागि आन्तरिक प्रतिस्पर्धा र लबिइङमा लागेका छन् । उनीहरुका आ–आफ्नै संभावना, सबलता र दुर्बलता रहेका छन् । पार्टीको कर्णाली प्रदेश कार्य समिति सदस्य र प्रचार विभाग प्रमुख रहेका गोविन्द कोइराला बौद्धिक र प्रखर वक्ताको रुपमा परिचित छन् । पार्टीको तर्फबाट हालसम्म कुनै पनि निर्वाचनमा टिकट र सार्वजनिक निकायमा अवसर नपाएका उनी ‘पब्लिक फेस’ भएको नेतामा गनिन्छन् । यद्यपि राजनीतिभन्दा अन्यत्र बढी ध्यान दिने र राजनीतिमा जोखिम मोल्न डराउने नेताको रुपमा उनको आलोचना हुने गरेको छ ।

लामो समय पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्कासँग निकट रहेका शाक्य दुईपटक जिल्लाको पार्टी सभापतिमा निर्वाचन लडेर पराजित भएका थिए । त्यसअघि खड्काले उनलाई सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष बनाएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा जिल्ला समन्वय समिति संयोजक हुने योजनाअनुसार वडा सदस्य लडे पनि पराजित भएपछि उनको सपना तुहिएको थियो । उमेरको हिसाबले शाक्य सिफारिसमा परेका अन्य आकांक्षीभन्दा पाको नेता हुन् ।

शाही शिक्षक–राजनीतिको पृष्ठभूमिबाट आएका हुन् । जागिरबाट रिटायर्ड भएका उनी कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको केन्द्रीय कार्यवाहक अध्यक्ष भएका थिए । कँडेल पार्टीका जिल्ला सचिव रहेका छन् । १३ औं महाधिवेशनसम्म थानी समूहमा रहेका उनी पछिल्लो समय संस्थापन समूहमा पुगेका हुन् ।

पार्टीका अर्का जिल्ला सचिव सुवेदी वीरेन्द्रनगरका निवर्तमान नगर प्रमुख हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा कठिन अवस्थामा नगर प्रमुख जिते पनि मेयरको रुपमा ‘काम देखाउन नसकेको’ भन्दै उनी पार्टीभित्र र जनस्तरमा समेत आलोचित छन् । १४ औं महाधिवेशनपछि जिल्लामा हालको संस्थापन समूहतिर लागेका सुवेदी केन्द्रमा भने महामन्त्री गगन थापासँग निकट मानिन्छन् । कृष्णप्रसाद सिटौला संंयोजकत्वको सिट बाँडफाँट गर्ने कार्यदलमा रहेका महामन्त्री थापाको कोटाबाट टिकट पाउने थोरै नेतामा उनको पनि चर्चा हुने गरेको छ ।

लामो समयसम्म पार्टीका केन्द्रीय उपसभापति खड्कासँग निकट रहेका पूर्वशिक्षक सापकोटा आफूलाई ‘घायल र पीडित’ भनेर गुनासो गर्छन् । दुईपटक पार्टीको जिल्ला सचिव लडेर पराजित भएका उनी यसपटक सभापति बन्न चाहन्थे । तर पहिलोपटक पूर्वी सुर्खेत (क्षेत्र नं. १) लाई जिल्ला नेतृत्व दिने सन्दर्भमा खड्ग पोख्रेलले सभापति पाएपछि उनी चुपचाप बस्न बाध्य भए । पार्टीको प्रदेश समितिमा अवसर नपाएका उनलाई गत वैशाखमा पार्टीको तर्फबाट वीरेन्द्रनगरको नगर प्रमुखमा उम्मेदवार बनाएर पनि मनोनयन दर्ता गर्नुअघि निराश बनाइएको थियो । सादगी, वैचारिक र बौद्धिक नेताको रुपमा उनको पहिचान बनेको छ । पार्टीका जिल्ला सहसचिव रहेका विष्ट तरुण नेताको रुपमा परिचित छन् । पछिल्लो समय पार्टीभित्र जवरजस्त आफ्नो स्पेस बनाउँदै लगेका उनी गत निर्वाचनमा नगर कार्य समितिबाट मेयरमा सिफारिस भएका थिए ।

२०७४ मै मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा निर्वाचन लडेका कँडेल यसपटक त्यही सपना पूरा गर्न फेरि प्रदेशसभामा दोहोरिन चाहेका छन् । उनलाई थाहा छ– २०७४ मा एक सिटमात्र जितेको कांग्रेसले अहिले आएर सत्ताको नेतृत्व गर्ने अवसर पायो । चुनावमा सत्ता गठबन्धन भएर प्रदेशको अंकगणित एमालेको प्रतिकूल आए पनि ५ वर्षभित्र अनुकूल अवस्था बनाउन सकिन्छ भन्ने कँडेललाई राम्ररी हेक्का छ । तर उनको योजना सफल हुने–नहुने सिफारिस भएका ९ भाइमध्ये कसले टिकट पाउँछ भन्नेमा निर्भर छ ।

वीरेन्द्रनगरका १६ मध्ये १४ वडा रहेको प्रदेशसभा २ (क) एमालेको बलियो जनाधार भएको क्षेत्र हो । गत निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी समीकरण भए पनि एमालेले प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको थियो । अहिले माओवादीको साथ पाएरमात्र पनि कांग्रेसलाई जित्न मुस्किल हुन सक्छ । कांग्रेसभित्रको गुटगट प्रतिस्पर्धाले सबैभन्दा बढी असर पार्ने क्षेत्र यही हो । कांग्रेस एक ढिक्का नभएसम्म यस क्षेत्रमा गठबन्धन भइहाले पनि जित्न सहज छैन ।

नारायण कोइराला किन परेनन् सिफारिसमा ?
सुर्खेतको कांग्रेस राजनीतिमा आश गरिएका र क्षमता भएका नेतामा पर्छन् नारायण कोइराला । पार्टीका पूर्व क्षेत्रीय सभापति रहेका उनले सुर्खेत उपत्यका नगर विकास समितिमा छोटो समय अध्यक्ष हुँदा उल्लेखनीय काम गरेर क्षमता देखाएका थिए । वौद्धिक र इमान्दारको नेताको छबि बनाएका कोइरालालाई गत निर्वाचनमा वीरेन्द्रनगरको मेयरको उम्मेदवारको रुपमा हेरिएको थियो । राजनीतिक विश्लेषकहरुका अनुसार उतिबेला एमालेसँग भिड्न सक्ने सबैभन्दा सशक्त उम्मेदवार कोइराला हुनसक्थे । उनले टिकट पाइदिएको भए वीरेन्द्रनगरको नतिजा फरक आउन सक्थ्यो । त्यसको प्रभाव आगामी निर्वाचनमा पर्ने निश्चित थियो । तर उनै कोइरालाको नाम सिफारिस नहुनुलाई कांग्रेसभित्र र बाहिर आश्चर्यपूर्ण रुपमा हेरिएको छ ।